क्याम्पसको आँखामा बङ्क
Written By Neplee on Friday, February 17, 2012 | 6:22 PM
पाश्चात्य संस्कृतिको प्रभावमा परेका नेपाली समाजका किशोरकिशोरीहरू अहिले त्यसको अवलम्बन गर्न अग्रसर छन् । यसले केही सकारात्मक सन्देश दिए पनि नेपाली समाज र संस्कृतिका लागि भने कहिलेकाहीँ अपाच्य हुने गरेको छ ।
नेपाली समाजभन्दा पाश्चात्य विकसित मुलुकहरू विज्ञानका क्षेत्रमा अगाडि छन् । त्यसले नेपाली युवाहरूले विज्ञान र प्रविधिको सिको गर्न खोज्नु नौलो कुरा होइन । यो सकारात्मक कुरा पनि हो । तर, तिनै समाजबाट कुलत र यौनजन्य क्रियाकलापलाई पनि नेपाली किशोरीकिशोरीले अवलम्बन गरिदिँदा नेपाली समाजको परिवेश र सामाजिक मर्यादामा नै नकारात्मक असर पर्ने गरेको छ ।
विकसित र खासगरी पश्चिमी देशका युवामा देखिने बङ्क प्रवृत्ति नेपाली युवाहरूको समेत आकर्षणको विषय बनेको छ । पढ्नका लागि क्याम्पस जानेभन्दा पनि साथीहरूसँग मिलेर मोजमस्ती गर्ने प्रवृत्तिले एकातिर क्याम्पसको छवि बिगारेको छ भने विद्यार्थीको भविष्यसमेत अन्योलमा पर्ने गरेको छ ।
महेन्द्र मोरङ क्याम्पस विराटनगरका उपप्राध्यापक कामेश्वर यादव बङ्क प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्छन् । ‘यसरी कलेज बङ्क गर्दा कुनै पनि सकारात्मक प्रभाव रहँदैन । यसले त केवल विद्यार्थीको भविष्य अन्योलतातर्फ धकेल्छ ।’ बङ्क गर्न अभिप्रेरित गर्ने साधनमा टेलिभिजन र मोबाइललाई उनले प्रमुख साधन मानेका छन् ।
टेलिभिजनमा देखाइने हलिउड र बलिउडका चलचित्र र टेलिसिरियलले किशोर किशोरीबीच हुने प्रेम सम्बन्ध र कुलतका लागि मलजल गर्ने र उदारताका लागि अभिभावकलाई समेत घच्घच्याउने हुँदा विद्यार्थीमा यसको नकारात्मक असर पर्दै गएको उनको तर्क छ । उनले वातावरण, अनुशासन र सङ्गत तीन विषयले किशोरकिशोरीलाई बङ्क गर्न उत्प्रेरित गर्ने दावी गरे ।
मनोविज्ञानका अध्यापक यादव भन्छन्, ‘पारिवारिक, शिक्षण संस्थाको र बाह्य वातावरणले ठूलो प्रभाव पार्छ ।’ नियमित र कडाइका साथ अध्ययन अध्यापन हुने शिक्षण संस्थाका किशोरकिशोरीले कलेज बङ्क गर्ने क्रम कम हुन्छ । यस्तै छोराछोरीप्रति बढी उत्तरदायी भूमिका निर्वाह गर्ने अभिभावक भएका घरका किशोरकिशोरी कलेज बङ्क गर्न अग्रसर हुँदैनन् । अनुशासन भएका शिक्षण संस्था र परिवारका किशोरकिशोरी पनि बङ्क गर्नबाट हच्किने गर्दछन् ।
उमाविहरूको छाता सङ्गठन हिसानका मोरङ अध्यक्ष बलराम पन्त पनि बङ्क संस्कृतिले दुव्र्यसनको समस्यासमेत बढाएको बताउँछन् । पन्त भन्छन्, ‘कलेजबाट भाग्ने क्रम पछिल्लो समयमा मौलाउँदै गएको छ । कलेज बङ्क गर्नेहरूको ठूलो सङ्ख्या कुलतमा पनि लागेको छ ।’
क्याम्पस बङ्कलाई परिभाषित गरेर नियन्त्रण गर्न सबै एकजुट हुनुपर्ने पन्त बताउँछन् । कक्षा छाडेर बीचैमा घुम्न जाने प्रवृत्ति बङ्क भए पनि काम विशेषले र सकारात्मक उद्देश्यले क्याम्पस छाड्नु बङ्क नभएको उनको तर्क छ ।
पोशाक लगाएर शिक्षण संस्थासम्म नपुग्ने, पुगेर पनि कक्षा नलिने र केही कक्षा लिएर पनि भाग्नेलाई कलेज बङ्क भनिने भन्दै पन्तले भने, ‘जानकारी गराएर बाध्यात्मक अवस्थामा पूरै कक्षा लिन नसक्ने अवस्थालाई भने कलेज बङ्क गरेको भन्न सकिँदैन ।’
उनको बुझाइमा पनि अन्य सहरसरह विराटनगरमा कलेज बङ्क गर्नेहरूको सङ्ख्या न्यून रहे पनि यो सङ्ख्या बढ्दै गएको छ । यसलाई रोक्न चाँडै नै अभियानका रूपमा जनजागरण कार्यक्रमको थालनी नगरे कलेज बङ्क गर्ने परिपाटीले शैक्षिक तथा सामाजिक समस्याको भयावह रूप लिनेछ ।
यता, मनोविज्ञ डा. मिनाक्षी नेपालका अनुसार कलेजबाट भाग्ने सबै क्रियाकलाप बङ्क हुन् । यो वा त्यो कारण दिनु बहानाबाजी मात्र हो । बङ्क संस्कृतिले विकृतिको रूप लिनुअघि अभिभावकहरू सचेत हुनुपर्छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !