मौलाउँदै बङ्क - College Times : Educational Magazine
Headlines News :
Home » » मौलाउँदै बङ्क

मौलाउँदै बङ्क

Written By Neplee on Friday, February 17, 2012 | 6:22 PM


युवापुस्ता प्रविधि र ग्याजेटहरुसँग बढी नजिक छ । यसले युवा पुस्ता र कलेजका विद्यार्थीलाई आपसमा सम्बन्ध बढाउन सहज भएको छ । तर, प्रविधिलाई अँगालेर विद्यार्थीहरु कलेज ड्रेसमै रमाइलो र घुमफिरका लागि कक्षा छोडेर हिँड्ने प्रवृत्ति बढ्न थालेपछि कलेजहरुका लागि टाउको दुखाइको विषय भएको छ, बङ्क । धरानबाट भोजराज श्रेष्ठ र विराटनगरबाट सुदीप कोइरालाको सहयोगमा शेखर ढकाल लेख्छन्, प्रविधि विद्यार्थीलाई बङ्क गर्न सजिलो माध्यम भएको छ भने कलेजलाई चुनौती ।
हुन त पुरानोपुस्ता पनि क्याम्पस बङ्क गथ्र्यो, तर त्यसबेला बङ्कमा प्रविधिको काम हुँदैनथ्यो । नयाँपुस्तामा भने बङ्कको लोकप्रियता प्रविधिसँग जोडिएको छ । प्रविधिले नै बङ्क प्रवृत्तिलाई बढाएको भुक्तभोगीहरू बताउँछन् । कलेजमा आफ्नो स्टाटस् देखाउनकै लागि विद्यार्थीले विभिन्न ग्याजेटका साथै सवारीसाधन प्रयोग गर्ने गरेका छन् । उनीहरू तिनै साधन प्रयोग गरेर क्याम्पस बङ्क गर्छन् ।
छात्रछात्राहरूलाई मस्ती गर्न कलेज बङ्क एकमात्र राम्रो उपाय बनेको छ । ‘परिवारलाई क्याम्पस गएको भन्ने !’ धरानस्थित एक निजी कलेजकी छात्रा सुवानीले भनिन्, ‘अन ड्रेसमा क्याम्पस जानु, अनि बङ्क गरेर घुम्न निस्कनुजस्तो सजिलो र रमाइलो केही छैन ।’ धरानमा भइरहने डान्स पार्टीका कारण पनि विद्यार्थीहरू कलेज बङ्क गरेर रमाइलो गर्न प्रेरित हुने गरेका छन् । मोबाइल आदि ग्याजेट, मोटरसाइकललगायतका सवारीसाधन अनि फेसबुक र मिगको सम्बन्ध कलेज बङ्कसँग हुन्छ । ‘मिग चलाउनेहरू धेरैजसो कलेजका विद्यार्थी हुन्छन् ।’ सिभिल इन्जिनियरिङ पूरा गरेका विद्यार्थी विराट भन्छन्, ‘सोसियल नेटवर्किङ साइटमा भएको चिनजानले कलेज नै बङ्क गरेर भेटघाट गर्न धेरैलाई उक्साउँछ ।’ विराट थप्छन्, ‘रातभर डान्स पार्टीमा जाने युवाहरू बढी मात्रामा कलेज बङ्क गर्छन् ।’  डान्सपार्टीमा रात बिताउने र भोलिपल्ट कलेजमा निदाउँदा बेइज्जत हुने डरले कलेज बङ्क गर्ने प्रवृत्ति बढ्दो छ ।
शिक्षाशास्त्र सङ्काय प्रथम वर्षमा अध्ययनरत्  उर्मिला शर्मा कहिलेकाहीँ ढिलो क्याम्पस पुगेका दिन र हड्तालको दिन साथीहरू मिलेर बङ्क गरेको बताउँछिन् । उनी थप्छिन्, ‘क्याम्पस गयो, पुग्दा गेट बन्द भइसक्छ, फर्कनुभन्दा त साथीहरू भएर बङ्क गयो, त्यो नै आनन्द हुन्छ ।’
प्रविधिले गर्दा बङ्क जान समूह गठन गर्नेदेखि एक्लै वा दुईजना सुटुक्कै जान पनि सजिलो भएको छ । मनोहरि भन्छन्, ‘बेलुकै मिगमा गफ गरेर भोलिपल्टको बङ्क जाने स्थल पक्का हुन्छ ।’
विजयपुर, बगरकोट, अमरहाट, सप्तरङ्गी पार्क धरानका विद्यार्थीका लागि नजिकका सुरक्षित बङ्कस्थल हुन् । त्यस्तै भेडेटार बङ्कका लागि अर्को लोकप्रिय गन्तव्यस्थल हो ।
बङ्ककै कारण कक्षा ११ का केही विद्यार्थीले पढाइ त्याग्नु परेको शिक्षा सदन उच्चमाविका सहायक प्रिन्सिपल अमर बस्नेतले बताए । ‘बङ्क गएरै आफ्नो पढाइ त पूरा गर्दैनन्–गर्दैनन् बुबाआमाको पैसा पनि सबै स्वाहा बनाउँछन्’, उनी भन्छन् । सङखुवासभाबाट कलेज पढ्न धरान आएका एक विद्यार्थीले साथीको सङ्गतमा लागेर घरबाट पढ्न ल्याएको पैसा बङ्कमा सकेको उदाहरण दिन्छन् उनी । साढे दुई महिनामा ती विद्यार्थी आठ दिन मात्र कक्षामा उपस्थित देखिए । ‘उनले बङ्कका कारणले क्याम्पस नै छाड्नु प¥यो,’ बस्नेत भन्छन्, ‘क्याम्पसको फी, एडमीसन गर्ने पैसा सबै बङ्कमा उडाएछन् ।’
धरानमा क्याम्पस बङ्क गर्नका लागि उपयुक्त स्थान खोजिरहनु पर्दैन । धरानका मन्दिरहरू नै डेटिङ पार्क र बङ्कस्थल हुन् । बाइक भयो भने झन् भेडेटार बङ्कको प्रमुख गन्तव्य बन्छ । ‘अझ केटीसाथीसँग बङ्क जानुको मज्जै बेग्लै हुन्छ,’ कक्षा ११ मा अध्ययनरत् एक युवकले भने, ‘साथीहरूसँग त गएकै छ नि !’
केटीहरू पनि बङ्कका लागि सजिलै तयार भइहाल्छन् । घरबाट कलेज टाइममा मात्रै निक्लने अनुमति पाएकाहरूलाई कलेज टाइम नै रमाइलोका लागि उपयुक्त समय बन्ने गरेको छ ।
धरानका विजयपुर, शिक्षा सदन, सिटी कलेज, निकेतन, युरेका, कौशिकी, धरान मोडल, धरान उमावि,  विजयपु उमावि, पब्लिक, सगरमाथा, एम्सलगायत कलेज र उच्चमाविका विद्यार्थीहरू प्रायः कलेज ड्रेसमै पार्क, मन्दिरलगायत स्थलमा भेटिन्छन् । कतिपयले चाहिँ सुरुमै सल्लाह गरेर अर्को कपडासमेत झोलामा बोकेका हुन्छन् । त्यस्ताले सुरुमा कलेज बङ्क गर्ने र पछि सुरक्षितस्थलमा गएर कपडा फेरेर ‘डेटिङ’मा गएजस्तो घुमफिर गर्ने गर्छन् । धरानमा प्रत्येक कलेजका ३० प्रतिशतभन्दा बढी विद्यार्थीले कलेज बङ्क गर्ने गरेका छन् ।
बढ्दो आधुनिकतासँगै भित्रिएको पश्चिमी संस्कृतिको प्रभावका कारण विद्यार्थीहरू आफूलाई सुपर र फरक देखाउन चाहन्छन् । कतिपय त आफूलाई बढी स्मार्ट देखाउन पनि क्याम्पस बङ्क गर्ने गरेको बीबीएस प्रथम वर्षका मनोहरिको धारणा छ । ‘पहिलो त मनोरञ्जन नै हो, त्यसबाहेक  शिक्षकहरूले पढाएको मन नपरेर पनि बङ्क गर्ने प्रवृत्ति बढेको हो,’ उनले भने, ‘छात्रहरूसँगै अहिले बङ्कमा छात्राहरू पनि थपिँदैछन् ।’
प्रविधिसँगै बङ्कको क्रेज बढ्दो छ । गाउँमा भन्दा शहरका कलेजहरूमा यसले बढी ठाउँ पाएको छ । सङ्गत, लागूपदार्थ सेवन, अभिभावकको लापरवाही तरिकाले बढी पकेट खर्च दिनु र सामाजिक वातावरणले गर्दा पनि विद्यार्थीहरू बङ्क जाने गरेको शिक्षकहरूको भनाइ छ ।
पछिल्लो चरणमा भने बाइक, प्रविधि र पैसाको कारणले बङ्कको विकृति बढेको बताइन्छ । शिक्षकको पढाउने शैलीका कारण पनि कतिपय विद्यार्थी बङ्कका लागि तयार हुन्छन् । होमवर्क नगर्ने, सबै जानेको छु भनेर स्मार्ट देखाउनेहरू बङ्कमा अगाडि हुन्छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved