- केदार शर्मा
केही युवा साथीहरूले सञ्चारसम्बन्धी राम्रो तालीम मिलाइदिन अनुरोध गर्दा मलाई खुसी लाग्यो । सञ्चारका क्षेत्रमा मात्र होइन, आपूmलाई काम गर्न मन लागेको विषयमा ‘राम्रो तालीम’ लिन चाहने युवाहरूको सङ्ख्या ठूलो छ । धेरै क्षेत्रमा काम गर्न र सफल हुनका लागि तालीमको आवश्यकता पर्छ । राम्रो तालीममा समय, अवसर, अध्ययन, अनुभव, अनुकरण तथा ठक्करहरूबाट सिक्ने अवसर पाइन्छ । तर, तालीम पाएका व्यक्तिहरू सबैले दक्षता प्राप्त गर्छन् र त्यसपछि सम्बन्धित विषयमा काम पाउँछन् भन्ने निश्चित हुँदैन ।
तालीम लिएर आपूmलाई सुयोग्य बनाउन चाहने युवाहरूलाई आफ्नो अनुभवमा आधारित केही कुरा बताउनै पर्छ भन्ने लागेर यस पटक मैले विचारबारीको विषय नै यही बनाएको छु । यो प्रतिस्पर्धाको जमानामा अरूलाई उछिनेर काम गर्न सजिलो छैन । भनेका ठाउँमा काम पाइने सम्भावना कमै हुन्छ र त्यसबेला धेरैलाई निराशा हुन्छ । तर, योग्यता र क्षमताको चमक मान्छेका आँखामा पर्छ नै । काम लगाउनेले जाँगरिलो र इमानदार व्यक्तिलाई नै रोज्छन्, त्यस्ता व्यक्तिले ढुक्क हुँदा हुन्छ ।
एउटा काममा छानिनु मात्र सफलता होइन किनभने हामी सबै छनोटको प्रव्रिmयामा दिनहुँ परिरहेका हुन्छौं । जसले यो प्रक्रियालाई बुझ्छ, उसले छनोटमा नपर्दा पनि मेरो कहाँ कमी कमजोरी भयो भनेर आत्ममूल्याङ्कन गर्छ । अनि ऊ अर्कालाई दोष दिनुको साटो आफूलाई सुधार्ने काम गर्छ ।
काम पाउनका लागि शैक्षिक योग्यता र तालीम मात्रले पुग्दैन । आफ्नो काम राम्रोसित गर्नेे स्वभावलाई अङ्ग्रेजीमा ‘प्रोफेसनालिजम’ भनिन्छ । यसलाई नेपालीमा ‘व्यावसायिकता’ भन्छन् । तर यसलाई ‘पेसाको धर्म र मर्म’ भनेर बुझ्नु सबभन्दा उपयुक्त हुन्छ ।
विभिन्न काम गर्न फरक फरक योग्यता, सीप, शैली, समय र ठाउँ हुन्छन् । तर, व्यावसायिकताका मापदण्डहरू भने सबै काम र सबै ठाउँका लागि समान हुन्छन् । व्यावसायिकताको पहिलो शर्त हो आफ्नो कामप्रतिको विश्वास, रुचि र गर्व । करले गरेको कुनै कामले पनि उत्तम परिणाम दिन सक्दैन ।
व्यावसायिकताको अर्को शर्त हो काम गर्ने सामथ्र्य वा क्षमता । व्यावसायिक व्यक्तिले आफ्नो विषय राम्रोसँग बुझेको हुनैपर्छ र ऊ आफ्नो काममा सिपालु हुनैपर्छ । आफ्नो काम राम्रोसँग गर्न नसक्ने व्यक्तिले कदाचित ठूलो पद पाइहाले पनि ऊ प्रभावकारी हुन सक्दैन, पदसँगसँगै ऊ पनि बिर्सिइन्छ । योग्यतासित जोडिएको अर्को गुण हो लगनशीलता । सामान्यतया योग्य व्यक्ति लगनशील नै हुन्छ । तर, कहिलेकाहीं एकदमै योग्य व्यक्तिको लगनशीलतामा पनि कमी आएको देखिन्छ । सफल हुन चाहने व्यक्तिले यसमा सदैव ध्यान दिनु
आवश्यक हुन्छ ।
व्यावसायिकताको अर्को शर्त हो भरपर्दोपन । व्यक्ति जति योग्य भए पनि विश्वासयोग्य छैन भने उसको योग्यता काम लाग्दैन । आफ्नो जिम्मामा रहेको काम भरपर्दोगरी पूरा गर्ने व्यक्ति मात्र सफल र प्रतिष्ठित हुनसक्छ । भरपर्दोपन इमानदारीको परिणाम हो । बेइमानीले कहिलेकाहीं चोरबाटोबाट सफलतासम्म पु¥याउन सक्छ तर बेइमानीको बोझले झुकेको शीरमा प्रतिष्ठाको टोपी कहिल्यै पनि अडिन सक्दैन ।
सफल हुन चाहने व्यक्तिले आफूलाई दिन–प्रतिदिन अझ योग्य बनाउने प्रयास गरिरहनुपर्छ । आफ्नो सीप र क्षमता बढाउन नसक्ने व्यक्तिलाई समयको छालले चाँडै नै पाखा लागाइदिन्छ । त्यसरी नै सकारात्मक विचार र व्यवहार पनि व्यावसायिकताको गुण हो । आफूले पार लगाउन नसक्ने विषयमा अर्काको खोट मात्र देखाउने व्यक्तिलाई प्रोफेसनल मान्न सकिँदैन । आफ्नो काम राम्रोसित गर्नु, अर्काको काममा चित्त बुझेको छैन भने खास कुरा तोकेर सुधारका लागि सुझाव दिनु र सकेको मद्दत पनि गर्नु व्यावसायिकताका अरू गुणहरू हुन् । अरूका कुरा सुन्न जान्नु र जान्नका लागि अरूका कुरा सुन्नु पनि व्यावसायिकताको एउटा चरित्र हो । व्यावसायिक व्यक्तिले अर्कालाई अपमान गर्दैन, अर्काले आफूलाई जस्तो व्यवहार गरोस् भन्ने लाग्छ, व्यावसायिक व्यक्तिले अर्कालाई पनि त्यस्तै व्यवहार गर्छ ।
यी सबै पेसाका साझा धर्म हुन् र यिनको पालना गर्ने व्यक्तिले मात्र पेसाको मर्म बुझेर अब्बल व्यावसायिक व्यक्तिका रूपमा आफ्नो पहिचान बनाउन सक्छ । आफूलाई यी कसीहरूमा घोटेर कहाँ छु भन्ने पत्ता लगाउनु र व्यावसायिकताका गुणहरू बढाउँदै लैजानु हामी सबैको पेसागत धर्म हो । व्यावसायिक जीवन प्रवेशसँगै यी कुराहरूमा ध्यान दिनु सफलताको पहिलो सूत्र हो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !