- केदार शर्मा
उखानहरूले थोरै शब्दमा धेरै कुरा भन्छन् । साधारण मान्छेका भोगाइ र अनुभवबाट खारिएका गहकिला र रमाइलोसित रचिएका, विभिन्न प्रसङ्ग वा स्थानमा प्रयोग हुने वाक्य नै उखान हुन् । तिनमा विचार, कला, हास्यचेत आदिको रमाइलो मिश्रण हुन्छ । कसैले उखान, टुक्का, गाउँखाने कथा, लोकगीत र लोककथाहरूको प्रयोग कसरी गर्छ भन्नेबाट प्रयोगकर्ता व्यक्तिको मात्र होइन, उसको समाजकै चतुरता, बुद्धिमत्ता र हास्यचेतको राम्रो मूल्याङ्कन गर्न सकिन्छ ।
नेपाली ग्रामीण समाजमा विभिन्न किसिमका लोकोक्तिहरूको प्रशस्त प्रयोग हुन्छ । हजारौं उखान–आहानबाट केही उदाहरण निकाल्ने हो भने, ताल न सुरसित गरिएको कामलाई ‘खोलाको गीत जस्तो’ भन्ने चलन छ । काम नलाग्ने मान्छेलाई ‘उँधो बगाएर उँभो खोज्नु जस्तो’ भनिन्छ । सहज मात्र खोज्ने र असहज भए भाग्ने बानीलाई ‘माछा देखे दुलाभित्र हात, सर्प देखे पाखामा हात’ भनेर अभिव्यक्त गरिन्छ ।
हजारौं चोटिला नेपाली उखानमध्ये मलाई बेलाबेलामा ‘जूठो खानु मीठोका लोभले’ भन्ने उक्ति सम्झना आउने गर्छ । मान्छे कुनै कम इज्जतदार मानिएको काम गर्न तयार हुन्छ भने त्यसमा कुनै न कुनै आकर्षण हुन्छ, अर्थात् राम्रो तलब वा अवसर छ भने मान्छे आफूलाई मन नपर्ने काम गर्न पनि तयार हुन्छ । घरमा हुँदा खाएको थाल नउठाउने मान्छे विदेशमा शौचालय सफा गर्नेसम्मका पनि काम गर्छन् । त्यसका पछिल्तिरको आकर्षण हो, विदेश जाने अवसर र पैसा । उखानकै भाषामा भन्ने हो भने, ‘देश पनि हेरिने, मुख पनि फेरिने ।’
शब्दार्थ छिचोलेर मर्म छुनु नै उखानहरूको विशेषता हो । यो उखानको अर्थ ‘जूठो’ र ‘मीठो’ मा मात्र सीमित छैन । तर पनि, यहाँ प्रयुक्त ‘मीठो’ शब्दले म अहिले आफूलाई एकदमै नमीठो लागेका तर संसारमा अत्यन्त लोकप्रिय केही खाने–पिउने कुरा सम्झिइरहेको छु । ती खाद्यपदार्थको रोचक पक्ष के छ भने, तिनीहरू मीठा छैनन्, पौष्टिक हुनु त परै जाओस् । बरु स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खालका छन् । प्रायः ती सबै नै अलिकति लुकेर अर्थात ‘म ठीक काम गरिरहेको छैन’ भन्ने सोचेर उपभोग गरिने कुरा हुन् । तर, पनि तिनको अम्मल दिनहुँ बढिरहेको छ । त्यसले धेरै युवाहरूलाई आफ्नो चपेटामा पारिरहेको छ । एक पटक सुरु गरेपछि छाड्न गाह्रो हुने भएकाले नै तिनलाई अम्मल भनिन्छ । ल, मीठो कुरा त खराबै भए पनि खायो रे, जूठै भए पनि भो रे ! मुखमै हाल्न असहज हुने, लुकेर खानुपर्ने र खाएपछि पनि हानी हुने भन्ने कुरा जानीजानी मान्छे किन अम्मली बन्छ भन्ने कुरा मेरो सामान्य बुद्धिले अहिलेसम्म पनि बुझेको छैन ।
फेरि दोहो¥याएरै भन्न मन लाग्छ, अम्मलका रूपमा खाइने कुनै पनि कुरा स्वादिष्ट हुँदैनन् । सुपारी, खैनी, सूर्ती, चुरोट, रक्सी कुनै पनि कुरा खाँदा मान्छेले स्वाद मानेर खाएको देखिँदैन । धेरैले त ‘कत्ति प्रयास गरे पनि छाड्न सकिनँ’ भनेको पनि सुनिन्छ । कसै–कसैले चाहिँ चुरोट छाड्न भनेर खैनी खान सिकेको तर पछि खैनीको समेत बानी लागेको पनि देखिएको छ । लहड लहडमा सुरु भएको अम्मलले मान्छेको प्राण नै लिएका प्रमाण खोज्न विश्व स्वास्थ्य सङ्गठनका तथ्याङ्क हेरिराख्नै पर्दैन, आफ्नै वरिपरि हेरे पुग्छ ।
वास्तवमा अम्मलको सुरुआत स्वादबाट लोभिएर होइन, ठूलो मान्छे हुने चाहना, साथी सङ्गत र ‘कूल’ हुने चाहनाबाट हुन्छ । सञ्चार माध्यमहरूमा, खासगरी सिनेमामा स्मार्ट देखाइउका व्यक्तिहरूले जे लाउँछन्, जे खान्छन् सामान्य व्यक्तिहरू आफ्नो भेषभूषा र खानपिनलाई त्यस्तै बनाउन चाहन्छन् । ‘कूल’ हुन खोज्दा–खोज्दै बानी लाग्छ, बानी अम्मल हुन्छ र अम्मल दुव्र्यसन हुन्छ । अनुसन्धानहरूबाट देखिएको कुरा हो, जति सानो उमेरदेखि अम्मल सुरु भएको छ, त्यो छुट्न त्यति नै गाह्रो हुन्छ । अनुसन्धानले के पनि स्पष्ट पारेको छ भने कहिल्यै धूमपान नगरेको व्यक्ति लागूपदार्थको दुव्र्यसनमा फस्ने सम्भावना अत्यन्त कम मात्र हुन्छ ।
अम्मल केहीको पनि राम्रो होइन भन्ने कुरा सबैलाई थाहा छ । तर, विभिन्न किसिमका अम्मलीहरूको सङ्ख््या पनि दिनदिनै बढिरहेको छ । दुर्भाग्यको कुरा, अधिकतर अम्मलले पहिलो शिकारका रूपमा युवाहरूलाई नै रोज्छ । विभिन्न किसिमका रक्सी र चुरोटका विज्ञापन युवातर्फ नै लक्षित छन् । ती सबै ‘कूल’ छन्, आकर्षक छन्, ‘ट्रेन्डी’ छन् । तर, आफैंसित एउटा प्रश्न सोध्ने हो भने तिनको आकर्षणबाट जोगिन सजिलो हुन्छ भन्ने लाग्छ, ‘जूठो त मीठोको लोभले खानु, नमीठो र नजाती अम्मल किन खानु ?’

0 comments:
Speak up your mind
Tell us what you're thinking... !