फोहोर भित्ता, फोहोर शिक्षा - College Times : Educational Magazine
Headlines News :
Home » » फोहोर भित्ता, फोहोर शिक्षा

फोहोर भित्ता, फोहोर शिक्षा

Written By Collegetimes on Sunday, February 2, 2014 | 1:14 AM


‘राधाको... मा कोठी छ !’

चर्चित हिन्दी सिने मेकर दादा केड्केले प्रयोग गरेको हिन्दी शब्दावली ‘अन्धेरी रातमे दीया तेरे हातमे,’ लाई बिर्साउने खालको यो दुई–अर्थी वाक्यांश, झापाको एक कलेजको भित्तामा देखियो । यो सूचना सार्वजनिक हुँदासम्म सम्भवतः हल्लखल्ल हुन गई त्यो वाक्यांश मेटिन पनि सक्छ । तर, यसको अर्थ र प्रभाव कहिले मेटिएला ?
अभिधा अर्थमा सकारात्मक भएर सोच्दा–पढ्दा लेख्नेले ‘राधाको गालामा कोठी छ,’ भनेको होला भनेर बुझ्दा भयो । तर, व्यञ्जना अर्थमा, यो लेख्नेको मनासय त्यस्तो देखिन्न । यो वाक्यांश जसले लेखेको भए पनि उसले अमुक छात्राको भित्री अङ्गतर्फ सङ्केत गर्दै, उनलाई सार्वजनिक रूपमा अपमानित बनाएर आफू आनन्दित हुन चाहेको यौन मनोविकृति लुकेको छ ।
कलेजको भित्तामा लेखिएको राधा नाम वास्तविक हो वा काल्पनिक, भन्न गाह्रो छ । तर, यदि कोही वास्तविक छात्राको नाम राधा थियो भने पनि एक वर्षअघि नै लेखेकोजस्तो देखिने त्यो वाक्यांशपछि साथीभाइले जिस्याउँदा–जिस्क्याउँदा हैरान भएर वा नजिस्क्याए पनि स्वयम् लज्जित भएर ती छात्राले सम्भवतः त्यो कलेज छोडिसकिन् होला ।
‘मर्निङ सोज द डे’, ‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ जस्ता भनाइले कुनै कुराको छाप सुरुमा नै राम्रो परेमा सधैं राम्रो र नराम्रो भएमा चिरकालसम्म नराम्रो असर पर्ने गर्छ भन्ने बुझाउँछ । यो पृष्ठभूमिमा कुनै विद्यार्थीले एउटा मात्र नयाँ शब्द राम्रोसँग जान्यो या शुद्धसँग प्रयोग गर्न सक्यो भने ज्ञान प्राप्त गरेको ठहर्छ । त्यसैले भन्ने गरिन्छ, ‘बिहानीले दिनको अवस्था देखाउँछ ।’
शिक्षालय भनेको शिक्षा आर्जन गर्ने मात्र नभएर सामाजिक संस्कार सिक्ने थलो पनि हो । घरपरिवारका सदस्य, छिमेकीसँगै समाजका कतिपय अगुवा मानिसबाट सिक्न नसकिएको संस्कार र ज्ञान शिक्षालयबाट सिक्ने हो । त्यसैले शिक्षालयलाई व्यक्तिले आर्जन गरेको ज्ञान र सीपलाई औपचारिकता दिने आदर्श संस्था मानिन्छ । तर, विडम्बना ! हाम्रा शिक्षालयको वातावरण कस्तो छ ? यहाँ कस्तो ज्ञान सिक्दै छन्, युवा विद्यार्थीहरू र के सिकाउँदै छन्, गुरुहरू ? कस्तो प्रकारको ज्ञान–सीपलाई उनीहरू औपचारिक बनाइरहेका छन् । कतै, जानी–नजानी बाटो बिराइरहेका त छैनन् ?
हाम्रा कतिपय सामुदायिक तथा सरकारी कलेजहरूका पर्खाल, कक्षाकोठा र सौचालयमा लेखिएका अश्लील शब्द र छाडा सिन्के चित्रले देख्नेका मनमा अनेक जिज्ञासाहरू उत्पन्न गराउँछन् । फोहोर गर्नेलाईभन्दा देख्नेलाई लाज भनेझैं, हाम्रा शिक्षालयका भित्ताहरूले देख्नेलाई लाजमर्दो बनाइरहेका छन्, अझ लामो समयसम्म त्यही वातावरणमा बस्नुपर्ने हाम्रा चेलीहरूको के अवस्था होला ? उनीहरूले त्यस्तो लाजमर्दो वातावरणलाई कसरी पचाइरहेका होलान् ? सहजै अनुमान लगाउन सकिन्छ ।
यसबाहेक, यस्ता अश्लील शब्द र चित्रको दुस्प्रभाव लाजको घेराभित्र मात्र सीमित हुन्न । यसले हाम्रा युवामा हुर्किरहेको विकृत यौन मनोविज्ञान पनि प्रतिविम्बित भइरहेको छ । किशोर–किशोरीलाई समयमा सही तरिकाले यौन शिक्षा दिन नजान्नुको प्रतिफलका रूपमा यस्ता शब्द चित्रहरू देखिने गरेको सरोकारवालाहरू बताउँछन् । यस्तो शिक्षालयमा देखिने यस्तो ‘फोहोरी वातावरण’ले यौन दुराचार, यौनहिंसा, धरेलुहिंसा, चेलीबेटी बेचविखनलगायत अपराधलाई सामान्यीकरण गर्दै लाने डर बढाएको छ । यसरी स्कुल कलेजका भित्ताहरू कुन्ठित यौन भावना छताछुल्ल पार्ने साधन बनिरहेकोप्रति सरोकारवालाहरू भने चिन्तित बनेका छन् । हाम्रा स्कुल–कलेजका भित्ता, कक्षाकोठा र सार्वजनिक सौचालयमा पुग्दा लाजमर्दो हुने गरी अश्लील शब्द लेखिएको भेटिनु सामाजिक चिन्ताको विषय हो भन्छन्, सामाजिक कार्यकर्ता सुबोध घिमिरे । विशेषगरी, सामुदायिक कलेजहरूका भित्ता, कक्षाकोठा र सौचालयमा छात्र–छात्रा दुवैले मनको कुन्ठा अभिव्यक्त गरेको पाइन्छ । ‘यस्ता लेखिएका शब्दले विद्यार्थीलाई गलत प्रवृत्तितिर उक्साइरहेको छ,’ समाजशास्त्रमा स्नातक घिमिरे भन्छन्, ‘निम्नमाध्यमिक तहदेखि नै किशोर–किशोरीलाई जीवनोपयोगी सीप र यौन शिक्षाका सकारातमक–नकारात्मक पक्षका बारेमा सचेत गराउन सकिए क्रमशः यस्तो विकृति समाजबाट आफैं कम हुँदै जान्छ ।’
सहजकर्ता घिमिरेले भनेजस्तो व्यवहार हुन नसक्दा आज हाम्रा कतिपय शिक्षालय यौन विकृतिको भासमा डुबेका देखिन्छन् । यस्तो विकृतिबाट कसरी जोगिने ? आजको यक्ष प्रश्न यहाँनेर केन्द्रित छ । वस्तुतः यो वा कुनै पनि समस्याको निराकरणका लागि पहिले त्यो समस्याबारे भुइँ तहदेखि विश्लेषण र सार्वजनिक बहस हुनु जरुरी छ ।
०००
हाम्रा सामुदायिक भित्ताहरूले ‘बोलिरहेका’ यौन विकृतिका बारेमा रिपोर्ट तयार पार्ने क्रममा कलेज टाइम्सका संवाददाताहरूले विभिन्न शिक्षालयमा गएर स्थलगत अवलोकन र प्रमाण सङ्कलन गरेका थिए । त्यस क्रममा यस्ता अश्लील शब्द–चित्र बढी मात्रामा अमुक छात्रले आफूले ‘मन पराएकी’ छात्रालाई लक्षित गरेर ‘जथाभावी’ लेख्ने गरेको पाइयो । कतिपय कलेजमा लेखिएका शब्द–चित्र त सार्वजनिक रूपमा ‘भन्न नहुने’ र ‘सुन्नै नसकिने’ खालका पनि छन् । तर, अचम्म लाग्छ, यसरी सार्वजनिक ठाउँमा घिनलाग्ने गरी अश्लील र छाडा शब्द–चित्र लेखिँदा पनि हाम्रा शिक्षक–विद्यार्थीहरूलाई भने ‘हाइसञ्चो’ भएको देखिन्छ ।
केही नगन्य कलेजबाहेक अधिकतर सामुदायिक तथा सरकारी कलेजमा अति नै छाडा र अनैतिक शब्दहरू लेखिएको पाइन्छ । यसरी छाडा शब्द लेख्नाले गर्दा दैनिक जीवनमा पनि छाडापन देखाउने र उत्ताउलो बन्ने प्रवृत्ति बढेर गएको  छ, युवापुस्तामा ।
‘प्रायः कलेजका भित्तामा विद्यार्थीको बुद्धि बढ्ने नारा–चित्र लेखेको भेटिंदैन,’ धनकुटा बहुमुखी कलेजमा शिक्षाशास्त्र सङ्काय स्नातक दोस्रो वर्षमा अध्ययनरत दुर्गा खड्काले भनिन् । उनका अनुसार स्कुल–कलेजका भित्ताहरू हेर्दै लाजमर्दाे हुन्छन् । देखे पनि नदेखेजस्तो गर्नुपर्ने बाध्यता छ । उनको विचारमा त्यस्ता विकृत शब्द–चित्र लेख्ने हातहरूले विभिन्न व्यक्तिका महान वाणीहरू लेखेदेखि कति राम्रो हुने थियो ! शौचालयका भित्ताहरूसँगै फाटफुट कक्षाकोठामा मनपरी लेखिएका छाडा शब्द पूर्वका कलेजहरूमध्ये नाम चलेको महेन्द्र बहुमुखी क्याम्पस धरान र विराटनगरमा बढी नै भेटिन्छ । विराटनगरको सौचालय त झन् हेर्नै नहुने छ । धरानमा छात्र सौचालयको भित्तामा मार्कर पेनले आफूलाई मन परेकी (वा, बदनाम गर्न चाहेकी !) केटीको नाम लेखेर लेख्नै नमिल्ने छाडा शब्द ‘प्लस गरेको’ पाइयो । छात्रा सौचालयमा पनि अनेक थरी ‘छाडा’ शब्द लेखेको पाइयो । यहाँ केही कोठाका केही डेक्सहरूमासमेत पेनले छाडा शब्द लेखेको पाइयो । सुनसरी बहुमुखी क्याम्पसका भित्ता र सौचालयको अवस्था पनि उही ड्याङको छ ।
पूर्वका सामुदायिक कलेज जनता बहुमुखी क्याम्पस इटहरी, सुकुना बहुमुखी क्याम्पस इन्द्रपुर मोरङ, बेलबारी बुहुमुखी क्याम्पस, पथरी, उर्लाबारी, दमक क्याम्पस, कन्काई कलेज सुरुङगा, सिराह, सप्तरी, इलाम, पाँचथरका कलेजमा पनि छाडा शब्द–चित्र लेखेको भेटियो । सामुदायिक र सरकारी कलेजमा अध्ययनरत प्रायः विद्यार्थीमा जे कुरामा पनि राजनीतिक रङ मिसाउने प्रवृत्ति व्यापक देखिन्छ । प्राध्यापकहरूको अवस्था पनि उही हो । यस्तो पृष्ठभूमिमा कलेजसँग सम्बन्धित कुनै पनि काममा अलिकति कडा निर्णय गर्नुप¥यो भने ‘प्रशासन’ हच्किने गरेका कारण  पनि कडा रूपमा प्रस्तुत हुन नसक्नाले गर्दा यो समस्या बढेर गएको बताउँछन्, अभियानकर्मी केशव दाहाल । ‘मान्छेको मनोविज्ञान वन्ने आधार सामाजिक व्यवहारमा निहित हुन्छ । विकृत यौन मनोविज्ञान पनि समाजकै विकृतिकै उपज हो,’ दाहालका शब्दमा भन्दा, ‘विद्यार्थीलाई सिर्जनामा, सपनामा, काममा केन्द्रित गर्न सके यसको उपचार अन्यत्र खोज्नुपर्दैन ।’
स्कुल–कलेजका सौचालय तथा पर्खालमा मनपरी वा अश्लील शब्द लेख्ने प्रवृत्ति सामान्यीकरण भएसँगै कतिपय विद्यार्थीको मुखमै छाडा शब्द झुन्डिएका हुन्छन् । छाडा शब्दहरू थेगोसरह झुन्डिएकाले गर्दा साथीभाइसँग पनि त्यस्तै शब्द प्रयोग गर्ने क्रम बढ्दो  छ । तर, छोरा–छोरीमा यस्तो यौन विकृति देखापर्नुुमा अभिभावक पनि उत्तिकै दोषी हुने धनकुटा बहुमुखी कलेजमा स्नातक अध्ययनरत मेघराज खतिवडाको भनाइ छ । ‘हरेकसँग बोल्दा, हिँड्दा र कुराकानी गर्दा नयाँ शब्द सञ्चार हुनुपर्ने अवस्थामा छाडा शब्द लेख्ने, बोलचाल गर्ने गर्नाले अहिलेको युवा विद्यार्थीलाई नकारात्मक बाटोतर्फ धकेलिरहेको छ,’ उनले भने, ‘ज्ञान, विवेक, सभ्यता बढ्ने कामका लागि अब आफू र आफ्नो वातावरणमा सुधार गरौं । जथाभावी लेखिएका छाडा शब्द–चित्र मेटाऔं ।’
०००
प्रायः स्कुल–कलेजका सौचालय तथा भित्ता, सार्वजनिक सौचालय, चौतारा, मठ–मन्दिर आदि ठाउँमा विकृत यौनभावका कुराहरू लेखिएको पाइन्छ । तर, यसरी, यौनभाव जथाभावी जस्तोसुकै ठाउँमा लेख्न, बोल्न र प्रकट गर्न पाइँदैन । यो सामाजिक र कानुनी दुवै दृष्टिमा अपराध हो । ‘खराब मनोवृत्ति भएका व्यक्तिहरूले मनोमानी लेख्नाले नयाँपुस्तामा नकारात्मक सन्देश जाने गरेको छ,’ महेन्द्र बहुमुखी क्याम्पस विराटनगरका प्राध्यापक विजयप्रसाद मिश्रले भने । प्रायः एकान्त स्थानमा लुकीछिपी फोहोर शब्द–चित्र लेखिने हुनाले त्यस्तो गलत काम गर्नेलाई निगरानी गर्न समस्या परेको मिश्रको भनाइ छ ।
पुरूषमा भन्दा महिलामा यौनभाव तीव्र हुने देखाए पनि छात्रा शौचालयमा अश्लील शब्द–चित्रहरू लेखिएको–कोरिएको कमै भेटिन्छ । अध्ययनअनुसार लभ अफेयरमा परेका कलेज व्वाइ–गर्लहरूले आफ्नो सौचालयमा त्यस्तो विकृत भाव व्यक्त गर्ने गरेको पाइन्छ । हाम्रो समाजमा यौन विषयमा खुलेर कुरा गर्ने अवस्था अहिलेसम्म बनिसकेको छैन । यौन शब्दलाई स्वस्थ रूपले प्रस्तुत गर्न सकिएको छैन । यौन प्रस्ताव जथाभावी राख्दा (लेख्दा) सम्बन्धितमध्ये  कोही क्षुब्ध र कोही आनन्दित पनि हुने गरेको पाइन्छ ।
कतिपय छात्रा सौचालयमा मोबाइल नम्बर, इमेल आइडीसहित यौनप्रस्ताव लेखेको पनि भेटियो । यस्तो प्रस्तावदेखि सुरुमा छात्राहरू झस्किए पनि बाध्यतावश सौचालय जानैपर्छ । ‘फोहोरी’ सौचालय प्रयोग गर्नु छात्राहरूको बाध्यता र नियति बनेको छ । ‘आम्मै ! के भन्नु ? हाम्रो कलेजको ट्वाइलेटमा के–के हो के–के लेखेको हुन्छ,’ एक छात्राले भनिन्, ‘कलेजको सौचालयको अवस्था सोच्दा त, जान पनि नपरोस्जस्तो लाग्छ ।’
हाम्रा सौचालयमा अनेक प्रकारका अश्लील शब्द त्यसमा पनि नामै किटान गरेर लेखिसकेपछि अमुक छात्रा तथा महिलालाई सौचालय जान मात्र होइन, सो शिक्षालयमै जान पनि समस्या हुने गरेको बताउँछिन्, महेन्द्र बहुमुखी क्याम्पस धरानमा एलएलबी दोस्रो वर्ष अध्ययनरत सुभद्रा प्याकुरेल । उनका अनुसार, कतिपय सौचालयमा त फोन नम्बरसमेत लेखेर अमुक छात्रालाई लजको कोठामा भेट्न आउने ‘निम्तो’ दिने गरेको पाइन्छ । त्यस्तो विकृत लेखाइले सम्बन्धित छात्रा डिप्रेसनमा पर्ने गरेको र अध्ययनमा पनि बाधा हुने गरेको छ । हालै आफ्नो नाममा त्यस्तो दुव्र्यवहार खेप्नुपरेकी महेन्द्र मोरङ कलेजकी एक छात्राले भनिन्, ‘क्याम्पस प्रमुख सरलाई भन्नै लाज लाग्छ कसरी भन्नु ?’ उनलाई यस्तो विषयमा आफ्नो नाम जोडिएको चर्चा गरेर लाजमर्दो हुनुभन्दा सहनु नै उत्तम लागेको छ ।
यो हाम्रा सार्वजनिक शिक्षालयमा विद्यमान निकै गम्भीर प्रकृतिको समस्या भएकाले सम्बन्धित शिक्षालय प्रशासनले छाडा शब्द–चित्र तत्काल मेट्नुपर्ने र फेरि लेख्न नदिन  निगरानी गर्नुपर्ने कतिपय छात्रछात्राको माग छ । उच्च शिक्षामा विशिष्टता हासिल गर्न अनुसन्धानमुखी कार्यमा विश्वविद्यालयले जोड दिंदै आएको अवस्थामा विद्यार्थीको ध्यान नै विकृतितर्फ मोडिने गरी अश्लील शब्द–चित्र लेखनलाई निरुत्साहित गर्नुपर्ने महेन्द्र बहुमुखी क्याम्पस धरानमा स्नातकोत्तर अध्ययनरत मिलन बुढाथोकी बताउँछन् । ‘कलेज प्रशासनले पहिले सार्वजनिक सूचना गरी त्यस्तो कार्य नगर्न सचेत गराउनुपर्छ । अटेर गर्नेलाई कारबाही गर्ने हिम्मत पनि जुटाउनुपर्छ,’ बुढाथोकीले भने, ‘अन्यथा, यो विकृति बढ्नुमा उनीहरूकै मुख्य दोष मानिनेछ ।’
०००

छाडा–चित्र शब्द मेटाउने उपाय
पूर्वका सरकारी तथा सामुदायिक कलेजका भित्ता, कक्षाकोठा र सौचालयमा लेखिएका अश्लील शब्द–चित्र मेटाउन र फेरि नलेख्ने वातावरण सिर्जना गर्न सचेतनामूलक अभियान सञ्चालन गर्नु एक मात्र उपाय मानिएको छ । यसमा इटहरीकै जनता बहुमुखी कलेजमा विद्यार्थी नै प्रत्येक कक्षापिच्छे गएर विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम गर्ने सोच बनाएको विद्यार्थी नेता जिबी गजलले भने । उनका अनुसार प्रत्येक कक्षापिच्छे गएर सचेतनामूलक कार्यक्रम सकेपछि कलेजको सौचालय, भित्ता र कक्षाकोठामा लेखिएको अश्लील शब्द मेटाउन अभियान थालिनेछ ।
    विद्यार्थीले जानी–जानी कलेजका सौचालय, भित्ता र कक्षाकोठामा अश्लील शब्द लेखेकाले गर्दा सुकुना बुहुमुखी कलेजले पनि विद्यार्थीमाझ सर्वप्रथम सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘अश्लील शब्द लेख्नेलाई नियन्त्रण गर्न सेचतनामूलक कार्यक्रमभन्दा अरू केही उपाय छैन,’ सुकुना कलेजका प्रमुख पीतकुमार श्रेष्ठले भने ।
‘छाडा प्रवृत्ति र नकारात्मक काम राम्रो होइन,’ जनता बमुमुखी कलेज इटहरीका प्रध्यापक टोलनाथ काफ्ले भन्छन्, ‘समाजको भविश्यसँग जोडिएका विद्यार्थीले खराब प्रवृत्ति त्यागेर आदर्श कुरालाई अनुसरण गर्ने हो भने छाडा र अश्लील शब्द मेटाउने अभियान थाल्नुपर्छ ।’
स्कुल–कलेजका भित्ता, कक्षाकोठा र सौचालयमा छाडा शब्द–चित्र लेख्ने कार्यलाई बेलैमा नियन्त्रण नगर्ने हो भने झन बढ्वा पाउने निश्चित छ । त्यसैले गर्दा आजको आधुनिक आदर्श समाज र नयाँ नेपालको संवाहक विद्यार्थी स्वयम्ले फोहोरी र छाडा शब्द मेटाउने अभियानमा जुटनुपर्छ ।

छाडापनविरुद्ध कानुन
सरकारी तथा सामुदायिक कलेजमा छाडा र अश्लील शब्द–चित्र लेख्नेको पहिचान भएमा सार्वजनिक अपराध ऐन र गाली बेइज्जती ऐन आकर्षित हुने कानुन व्यवसायीहरू बताउँछन् । ‘यदि व्यक्तिको पहिचान भएन भने उजुरी पनि लाग्दैन र कतै सुनुवाइ पनि हुँदैन,’ सुनसरी बार एसोसिएसनका अध्यक्ष कृष्ण दाहालले भने, ‘व्यक्ति पहिचान भई उजुरी परेको खण्डमा कारबाही हुन्छ । कसैलाई इङ्कित गरेमा गोली बेइज्जतीमा मुद्दा चल्छ ।’
कानुनअनुसार यस्तो अभियोग प्रमाणित भएमा सार्वजनिक अपराध ऐनअन्तर्गत न्यूनतम पाँच सयदेखि २८ हजार रुपैयाँसम्म जरिवाना हुन्छ । कसैलाई इङ्कित गरी गाली बेइज्जती वा सार्वजनिक रूपमा अपमानित गरेमा  मुद्दाको संवेदनशीलता हेरेर कैद सजायसम्म हुन सक्छ । तर, गाली बेइज्जती ऐनअन्तर्गत भने कारबाहीको फितलो  व्यवस्था छ । यौन मनोविकृतिसँग जोडिएको यस प्रकृतिको अपराधमा कानुनभन्दा पनि समाजको सरोकार बढी हुनुपर्ने अधिवक्ता दाहालको भनाइ छ । उनका अनुसार, ‘छाडा र अश्लील शब्द लेख्नलाई निसाना गरेर बस्नुभन्दा कलेज प्रशासनले त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाउनु ठीक हुन्छ ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved