पाठ सिकाउने सिनेमा हल
Written By Neplee on Wednesday, April 24, 2013 | 10:48 PM
पूर्वको व्यस्त चौबाटो इटहरीका युवायुवतीहरू फिल्म हेर्न जहिले भाँैतारिन्छन् । इटहरी छेउका झुम्का, दुहवी, धरानका हलमा नयाँ फिल्म लाग्यो भने उनीहरूको दौडधूप सुरु हुन्छ । फिल्म हेर्नको लागि एक सय रूपैयाँको गाडीभाडा तिरेर झापासमेत पुग्छन् । इटहरीमा फिल्म हल नै नबनेको होइन, तर एकताका निकै चलेका दुई वटा हल यतिबेला इतिहास बनिसकेका छन् । पूर्वकै ठूलोमध्ये मानिएको इटहरीको पशुपति हल अहिले भत्काइसकिएको छ भने अर्को कृष्ण टाकिज हल पनि गोदाम बनेको छ । यस्तो हुनुको कारण एउटै हो, प्रविधिको विकास ।
प्रविधि नै आजको संसारको रूप फेर्ने एउटा माध्यम हो । यसलाई कसैले नकार्न सक्दैन । प्रविधिकै सहयोगमा मानिस चन्द्रमासम्मको यात्रा तय गर्न सफल भएको छ । मानिसको सम्पन्नताको प्रमुख कारक प्रविधिको सही उपयोग हो । प्रविधिले संसारलाई साँघुरो बनाइरहेको समयमा इटहरीका हलहरूमा भने यसले नकारात्मक असर गरेको छ ।
कम्प्युटर, सिडी प्लेयर, प्रोजेक्टर, केवल नेटवर्कजस्ता मनोरञ्जनका प्रविधिहरूको सहज र सुलभ उपलब्धताका कारण कुनै समयमा दर्शकहरू खचाखच भरिने फिल्महलमा मानिस जान छाडे । घरमै सस्तो मूल्यमा सिनेमा हेर्ने प्रविधि सजिलोसँग उपलब्ध भएपछि सिनेमा हेर्नका लागि फिल्म हल धाउने दर्शक नभएपछि नेपालका धेरै फिल्महलजस्तै इटहरीका दुई वटा हल पनि इतिहासमा सीमित भए । हल बन्द हुँदा सिनेमा हेर्न चाहने केही युवायुवतीलाई समस्यामा त पारेको छ नै हल सञ्चालकहरूको लागि समेत नमिठो घाउ बनेर रह्यो ।
इटहरीमा २०५२ सालमा पशुपति सिनेमा हलको रूपमा पहिलो फिल्म हल बनेपछि फिल्म हेर्नका लागि धरानको गणेश टाकिजमा धाउनुपर्ने बाध्यता हट्यो । पाँच जना चौधरी दाजुभाइले संयुक्त रूपमा लगानी गरी २०४३ सालदेखि बनाउन सुरु गरेको सो हलको २०५२ सालमा आएर निर्माण सम्पन्न भयो । सुरुवातमा राम्रो व्यापार गरे पनि निर्माणको पाँच वर्षपछि नै निरन्तर घाटा सहँदै २०५७ सालमा आएर सो हल पूर्ण रूपमा बन्द भयो ।
खण्डहर बनिसकेको हल २०६४ सालमा आएर बैंकको ऋण तिर्नका लागि एक करोड रूपैयाँमा बिक्री भयो । अहिले त्यो हल पूर्णरूपमा भत्काइएको छ । अवशेष पनि बाँकी छैन । ‘त्यतिखेर इटहरीमा हल थिएनन् । धरानको गणेश टाकिजमा फिल्म लाग्दा गाउँका प्रायः युवाहरू योजना बनाएर जाने गथ्र्याैंँ,’ हल संस्थापकहरूका नाति शेखर चौधरीले विगत कोट्याए । मनोरञ्जनको लागि इटहरीबासीमा सिनेमाप्रतिको आकर्षण र रुचि बढ्दो थियो । मानिसहरूको रुचि र आवश्यकतालाई ध्यानमा राख्दै चौधरीका हजुरबुबाहरू मिलेर हल निर्माण गर्ने निर्णय गरेछन् ।
शेखरका हजुरबुबाहरू शङ्करलाल चौधरी, भुवनेश्वर चौधरी, बैजनाथ चौधरी, हेमनलाल चौधरी, सुधीरकुमार चौधरी मिलेर हल निर्माणका लागि इटहरीमा रहेको आफ्नो १५ बिघा जग्गा बेचे । नेपालमा प्राविधिक नभएकाले भारतबाट १२–१३ जना प्राविधिकले पाँच–छ महिना समय लगाएर हलभित्रको साजसज्जा गरे । पाँच लाख वटा इँटा लागेको सो हलमा ४० लाखको लगानीमा प्रोजेक्टर, जेनेरेटर, पर्दा, कुर्सी र फ्यानको व्यवस्था भयो । हलको उद्घाटन तत्कालीन निर्माणमन्त्री विजयकुमार गच्छदारबाट गरिएको थियो ।
निर्माणको केही समयसम्म हल राम्रै चल्यो । राम्रै कमाइ भयो । चर्चा र ग्राहक पनि राम्रै पायो । ५५ सालमा इटहरी जेसिसको आयोजनामा हलमा भएको एक कार्यक्रममा गायक उदितनारायण झा प्रमुख अतिथिको रूपमा आएको सम्झन्छन् उनी । तर, पछिल्लो दिनहरूमा हलको कारोबार घट्दै गयो । हुँदा–हुँदा सञ्चालजन खर्चसमेत धान्न नसक्ने अवस्था भएपछि ५७ सालमा बन्द नै भयो । हलसँगै चौधरी परिवारले करोडौंको घाटा बेहो¥यो । त्यसबखत हल बनाउनका लागि बेचिएको जग्गा अहिले प्रतिका २० लाख पर्छ ।
‘केवल, टिभी, सिडी र डिभिडीको बढ्दो प्रयोगले मानिसहरूले हलमा गएर फिल्म हेर्न छाडे,’ उनले भने, ‘त्यस्तै तत्कालीन माओवादी जनयुद्धमा कडा बनाइएको सुरक्षा व्यवस्थाका कारण रात्रि शिफ्ट सञ्चालन गर्न नसकिएको र हलमा दर्शक नगएका कारण पनि घाटा लागेर हल बन्द गर्नुपरेको हो ।’
हलबाट घाटा व्यहोरेका हल सञ्चालकहरू अब हल बनाउने सोच्न पनि सक्दैनन् । पाँच(सात करोडको सम्पत्ति गुमेको बताउँदै अझ धेरै खर्च गरेर आरामदायी हल बनाउन सके मात्र चल्ने हल सञ्चालकहरूको तर्क छ ।
प्र्रविधिलाई प्रयोग गरेर व्यवसायमा लाग्न चाहने हरेकलाई यो घटनाले राम्रो पाठ सिकाउन सक्छ । लहडमा लागेर कुनै व्यवसाय सञ्चालन गर्नुअघि प्रविधि–विकासको तीव्रता अनुमान गर्नसमेत यो हलले पाठ सिकाएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !