किन असफल हुन्छ teen age love - College Times : Educational Magazine
Headlines News :
Home » » किन असफल हुन्छ teen age love

किन असफल हुन्छ teen age love

Written By Neplee on Wednesday, February 13, 2013 | 6:18 PM


प्रेम जीवनको शास्वत सत्य हो । प्रेमविना जीवन त के यो संसारको समेत कल्पना गर्न सकिन्न । एकपटक सोच्नुहोस् त, यदि दुनियाँमा तपाईलाई माया गर्ने एक जना मानिस पनि भएनन् भने तपाईलाई कस्तो लाग्छ ?
प्रेमका धेरै रूपहरू छन् । हामी विविध रूपका प्रेम चाहिरहेका हुन्छौँ किनकि माया, प्रेम, स्नेहविना कसैले पनि जीवनको गाडी अघि बढाउन सक्दैन । घर–परिवार, आफन्त र साथीभाई सबैको प्रेम आवश्यक हुन्छ जीवनमा । तर, यहाँ विद्यालय पढ्ने उमेरका किशोर–किशोरीहरू बीच हुने प्रेम–सम्बन्धका बारेमा चर्चा गर्न लागिएको छ ।
शारीरिक र मानसिक विकाससँगै किशोर–किशोरीहरूमा विपरितलिङ्गीप्रतिको आकर्षण बढ्न थाल्छ । उनीहरू एकअर्कालाई मानसिक र शारीरिक रूपमा नजिक बनाउने प्रयत्नमा लाग्छन् । पछिल्लो समय त प्लसटु वा स्कुल नसकिँदै ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने प्रचलन मौलाउँदो छ । ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड नहुनेहरू साथीभाइका माझ एक्लो हुने भएकाले पनि कसै न कसैलाई रोज्न बाध्य बनेको विद्यार्थीहरू बताउँछन् ।
तर, प्लसटु अथवा स्कुल नसकिँदै प्रेम गर्नेहरूमध्ये धेरैको प्रेमसम्बन्ध भने असफल भएको पाइन्छ । यसबाट उनीहरूमध्ये केही निराशाको जालोमा झेलिन पुग्छन् भने केहीको मनमा प्रेमप्रति नकारात्मक धारणासमेत बन्ने गरेको पाइन्छ । यदि प्रेमसम्बन्ध दीगो बनाउने चाहना हो भने प्लसटु वा स्कुल पढ्दै गरेका किशोर–किशोरीले किन प्रेम असफल हुन्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।
सामाजिक परिवेश
विविधताले भरिएको हाम्रो समाजमा विभिन्न समुदायका भिन्न–भिन्न संस्कार र रीतिरिवाज मान्ने मानिसहरूको बसोबास छ । उनीहरूबीच अन्तर्घुलन हुन बाँकी सांस्कृतिक, आर्थिक, सामाजिक र संस्कारसम्बन्धी समस्याहरू छन् । त्यसकारण टिन एजमा आफ्नो उमेरका जुनसुकै युवा–युवतीबीच गहिरो प्रेम भए पनि सामाजिक परिवेशका कारण कालान्तरमा उनीहरूको प्रेम सफल हुन पाउँदैन । युवा–युवतीका जति गहिरो सम्बन्ध भए पनि परिवारबीच विद्यमान आर्थिक, सामाजिक, जातीय र सांस्कृतिक असमझदारीले गर्दा अन्ततः प्रेम विफल हुन्छ । र, एक–अर्काविना बाँच्नै नसक्ने ठानिएको प्रेमप्राप्तिको चाहना अधुरो हुन पुग्छ ।
अपरिपक्व उमेर
साथीभाइको देखासिकीमा आफ्नो उमेरका युवा–युवतीबीच प्रेम भए पनि उमेर बढ्दै जाँदा उनीहरूका इच्छा, चाहना र आकाङ्क्षाहरू फरक हुन थाल्छन् । विकसित परिस्थितिसँगै सोचाइमा पनि फरकपन आउन थाल्छ । योसँगै एकअर्कालाई बुझ्ने कुरामा भिन्नता आउँछ, जसले दुईबीचको सुमधुर सम्बन्धलाई चकनाचुर बनाउन बेर लगाउँदैन । यस्ता थुप्रै उदाहरण तपाईं–हाम्रा अगाडि प्रशस्त छन् । त्यसैले साथीभाइको लहैलहै र देखासिकीमा लाग्नुभन्दा सुरुमा निकै सोचेर मात्र प्रेमसम्बन्धका लागि हात अघि बढाउनु राम्रो हुन्छ ।
उच्चशिक्षा
प्लसटुको वातावरणले प्रायः एउटै कक्षामा पढ्नेबीच प्रेमसम्बन्धका मुनाहरू पलाउन सजिलो पारेको हुन्छ । जब प्लसटुको पढाइ सकिन्छ अनि माथिको पढाइका लागि त्यो ठाउँ छाड्नुपर्ने कतिपयको अवस्था हुन्छ । त्यसले पनि एकअर्कालाई टाढा बनाएको पाइन्छ । भौतिक रूपमा टाढा भएसँगै कतिपय भावनात्मक रूपमा पनि टाढा हुँदै गएको पाइन्छ ।
करियर बनाउने बेला
हाम्रो सामाजिक परिवेशअनुसार केटाको भन्दा केटीको चाँडो विवाह हुने प्रचलन छ । यसकारण केटा करियरको खोजी गरिरकेका बेला केटीलाई परिवारले विवाह गर्न दबाब दिइरहेका हुन्छन् । प्रायः एकै उमेर र सँगसँगै पढ्नेहरूका लागि यो अवस्था ठूलो समस्याका रूपमा देखा पर्छ । एकातर्फ प्रेमी भएको कुरा परिवारलाई सहज स्वीकार नहुने अर्कोतर्फ प्रेमीसँग विवाह गर्दा पनि दुवै बेरोजगार हुँदा जीवन निर्वाहमा समस्या हुने दोधार उत्पन्न हुन्छ । यस्तो अवस्थामा प्रेमीभन्दा राम्रो आर्थिक अवस्था र स्टाटस बनाएको केटा माग्न आएपछि केटीलाई ठूलो दबाब पर्छ । कतिपय सम्बन्ध यसरी नै पूर्णविराम लाग्छन् ।
आडम्बरयुक्त जीवनशैली
न पुरानो न आधुनिक हुन सकेको सङ्क्रमणकालीन हाम्रोजस्तो समाजमा आडम्बरयुक्त जीवनशैलीले व्यापक ठाउँ पाएको छ । त्यसैको प्रभावमा परेर फिल्मीशैलीमा एकले अर्काको ‘उपभोग गर्ने’ वा प्रेमका नाममा ‘टाइमपास गर्ने’ परिपाटी पनि मौलाउँदो छ । यस्तो नाटकीय र प्रयोगवादी व्यवहारले पनि टिन एजको प्रेम–सम्बन्ध दीगो होइन दुःखदायी भएको पाइन्छ ।
यात्री शेखर
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved