छुटेको माया (story)
Written By Neplee on Wednesday, February 13, 2013 | 6:16 PM
गरिब अनि आमाबुबा गुमाएकी टुहुरी केटी हुनुको परिणामस्वरूप अभिभावकको मायाभन्दा अलि पर थिई ऊ । अभिभावकको रूपमा मामामाइजुलाई पाएकी थिई । स्कुल जान्थी अनि सामान्य घरधन्दा । जीवन यसरी नै चलिरहेको थियो । बुबाले छाडेर गएपछि आमाको सहारामा बाँचेकी थिई । आमा पनि धेरै कमाउने भन्दै विदेसिएपछि ऊ मामाघरको शरणमा थिई । स्कुले उमेरमा नै उसको जीवनमा उर्लिनुपर्ने जति खहरे उर्लिसकेका थिए । अहिले ऊ शान्त छे ।
दिनहरू बित्दै थिए । कक्षा आठमा छँदा उसको जीवनमा एउटा नयाँ मानिस गाँसिन आइपुग्यो । परीक्षाको तयारी गर्दैगर्दा मोबाइलमा नयाँ नम्बर देखियो । फोन किरण भन्ने युवकको थियो । बिर्तामोडमा बस्दो रहेछ । फोनमै परिचय भयो । सुख–दुःखका कुरा भए । उसले आमाबुबाको माया नपाउनुको पीडा बिर्संदै गई । फोनमा भएको परिचयलाई थप गाढा बनाउन उसले बिर्तामोड बोलायो । एसएलसी परीक्षापछि साथीकोमा जान्छु भन्दै निस्केकी ऊ दमक पुगी । उनीहरू दिनभरिसँगै घुमे । एकान्तमा एकअर्काको हात समातेर साथै जिउने–मर्ने कसम समेत खाए ।
पढिसकेर मात्र विवाह गर्ने सहमतिअनुसार उनीहरू दुवै आ–आफ्नो ठाउँमा क्याम्पस भर्ना भए । कक्षा १२ को परीक्षापछि किरणले एउटा प्रस्ताव ग¥यो, ऊ छाँगाबाट खसेझैं भई । किरणले मासिक एक लाख रूपैयाँ ज्याला पाउने लोभमा विदेश जाने योजना बनाएको रहेछ । भिसा आउने पनि निश्चित भइसकेछ । आफ्नो प्रेमीको खुसीका लागि उसले पनि स्वीकृति दिई । जाने बेलामा किरणले ‘म उता गएपछि यता अर्कोसँग माया नगाँस्नु है,’ भन्यो । उसले पनि सोधी, ‘विदेश गएपछि मलाई त भुल्नुहुन्न नि ?’ जवाफमा किरणले उसका गाला मुसार्दै भनेको थियो, ‘तिमीलाई कसरी भुल्न सक्छु र मेरी काली !’ किरणका मायालु शब्द सुनेर, हाँसीहाँसी बिदा गर्छु भनेर सोचेकी उसका आँखामा आँसु अडिएनन् ।
उसले कतार पुगेपछि फोन ग¥यो । ऊ खुसी भई । तर त्यो खुसी धेरै टिकेन । निरन्तर सम्पर्कमा रहन नसक्नुको बेफाइदा असमझदारी खै कताबाट पलायो । एकदिन उसले फोन ग¥यो र भन्यो, तिमीलाई जे भन्नु छ मलाई भन, किन दुनियाँलाई सुनाउँदै हिँड्छ्यौ ? ऊ अक्क न बक्क भई । त्यस्तो कसलाई के भनेँ र ? उसले केही सोच्नै सकिन । सोध्न खोज्दै थिई, फोन काटियो । यताबाट फोन गरी, तर उठेन । ऊ छक्क परी ।
भुइँ नै घुमेजस्तै भयो । चट्याङ परेजस्तो भयो । किन, कसरी, केही बुझ्नै सकिन । उसले विगत सम्झी, वाचा कसम सम्झी । स्पष्ट पार्ने मौकासमेत नदिइ एकैछिनमा कसरी त्यस्तो भयो ? वर्षौंदेखिको प्रेम एकैछिनमा त्यसरी टुट्छ र ? उसलाई सपनाझैँ लागिरह्यो...।
केही दिनपछि फेरि फोन आयो, खुसी हुँदै उठाई । तर, उसलाई बोल्नै नदिई उताबाट यस्तो आवाज आयो, ‘अब तिमी आफ्नो गर, म आफ्नो गर्छु ।’
ऊ निकै क्षुब्ध भई । आफ्नो गल्ती नै नभई कसैले त्यसरी गाली ग¥यो । वर्षौंदेखिको मायालाई अचानोमै राख्यो । बोल्ने मौका दिएको भए पनि वा गल्ती वा कमजोरी भनिदिएको भए पनि हुन्थ्यो । धेरैदिनसम्म मनमा छुरा रोपेजस्तै भयो उसको ।
सायद धन कमाएपछि माया बिर्सिइँदो रहेछ । किरणले त उसलाई बिर्सियो होला । उसले भने बिर्सेकी छैन ।
जुना त्रिताल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !