माया घर, घण्टाघर - College Times : Educational Magazine
Headlines News :
Home » » माया घर, घण्टाघर

माया घर, घण्टाघर

Written By Neplee on Wednesday, February 13, 2013 | 6:45 PM


‘छ्या, तिमी पनि अरूले देखे भने...!’
केटीको मधुरो स्वर कानमा ठोकिन्छ ।
घन्टाघरको भित्री सिढीमा पाइला हाल्नासाथ यस्तो रमाइलो साउती सुनेर को रोमाञ्चित नहोला ?
मेरो ध्यान पनि त्यो प्रेमिल जोडीको वार्तालाप तान्यो । ‘आखिर तिमीलाई माया गर्ने मै त हुँ नि, किन डराउनु ?’ केटोको उत्तर र प्रश्न सँगसँगै थियो । केटी भने केही लजाउँदै प्रस्तुत भइरहेकी थिइन् ।
धरानको भानुचोकस्थित घन्टाघरभित्र यस्तो दृश्य देख्न र संवाद सुन्न पाउनु सामान्य हुँदै गएको छ ।
रमाइलो गर्ने मामलामा युवापुस्ता निकै अघि छन् । धरानको परिचित थलो घन्टाघर पनि त्यस्को प्रभावमा परिसकेको छ ।  पछिल्लो समयमा आफन्त भेट्ने निहुँमा होस् या युवयुवती र जोडीहरूको लागि थकाइ मार्ने र एकअर्कालाई चिन्ने र माया साटासाट गर्ने ठाउँका रूपमा परिचित बन्दैछ घन्टाघर । अझ नयाँ जोडीहरूका लागि मायालु समय सदुपयोग गर्ने केन्द्र नै बनेको छ यो ।
धरान आएपछि सबैका आँखामा पर्ने घन्टाघरमा दैनिक आधा दर्जन जोडीहरू त भेटिन्छन् नै । अझ पछिल्लो समयमा फिल्म, गीतहरूको म्युजिक भिडियो सुटिङका कारण झनै चर्चित बनेको छ घन्टाघर । व्यस्त धरानेलाई समय सूचना दिन बीच बजारमा उभिएको घन्टाघर डेटिङ, फोटो सेसन र रोमान्स केन्द्र बनेसँगै रमित हेर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । भनिन्छ, देखाउने छन् भने हेर्नेहरू पनि छन् तर कहिलेकाहीँ घन्टाघरभित्रको दृश्य देखाउनेलाईभन्दा देख्नेलाई लाज भनेजस्तो पनि हुने गरेको छ । माया गर्नका लागि ठाउँ चाहिँदैन भन्ने अर्को उखान पनि छ । त्यसैलाई चरितार्थ गर्दै यो प्रेमदिवसमा नवप्रेमीहरूलाई आमन्त्रण गरिरहेको छ धरानको घन्टाघरले । ‘माया साट्नकै लागि एकान्त स्थान चाहिन्छ भन्ने छैन,’ राधा शर्मा भन्छिन्, ‘यो प्रेम दिवसका दिन हामीले घन्टाघरमा तीन–चार घन्टासँगै बस्ने योजना बनाएका छौँ ।’ त्यसो त धरानको घन्टाघरमा प्रेम–जोडीको भेटघाट र माया साटासाट हुन कुनै विशेष अवसर चाहिँदैन । धराने युवाजोडीले भेट भएपछि माया साट्न सहज हुने स्थानका रूपमा लिने गरेका छन् । घन्टाघरमाथि हत्तपत्त मान्छे नचढ्ने भएकाले यो उम्मत्त जोडीलाई उपयुक्त थलो भएको छ ।
घन्टाघरलाई दैनिक नियाल्दै आएका स्थानीय राजा सुब्बा सुरुवाती कालमाभन्दा अचेल त्यसता युवायुवतीको सङ्ख्या बढ्न थालेको अनुभव सुनाउँछन् । घरीघरी त उनीहरूको काम नै त्यस्ता जोडीहरूको गतिविधि नियाल्ने हुने गरेको छ । ‘दैनिक तीन–चार जोडीहरू आउँछन्, सार्वजनिक ठाउँमा अनपेक्षित काम हुन्छ कि भनेर हामी विचार गरिरहेका हुन्छौँ,’ उनले भने, ‘आपत्तिजनक नभए हामी कुनै डिस्टर्व पनि गर्दैनौँ ।’
सुब्बाका अनुसार स्थानीय जोडीहरू चाहिँ चिनिने डरले आउँदैनन्, धरानबाहिरका जोडीहरूको भने भेट्ने र माया साट्ने पहिलो गन्तव्य नै घन्टाघर हुने गरेको छ । मुख्य चोकमै भएकाले भेट्ने र घुम्ने निहुँमा आउन सजिलो भएको जनाउदै उनले युवायुवतीको जोडी धेरै समय बसेमा विशेष निगरानी गर्ने गरेको बताए । घन्टा घरभित्रको सिडीमा बस्नेहरूलाई चाहिँ केही समयमै ‘चेक’ गर्ने गरेको उनले सुनाए ।  विशेषगरी टाढाबाट अध्ययन गर्न आउने युवायुवतीहरूका लागि घन्टाघर भेट्ने र माया साट्ने थलोको रूपमा विकास भइरहेको सञ्चालकहरू बताउँछन् ।
– भोजराज श्रेष्ठ
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved