पछिल्लो समयमा विद्यार्थीहरुमा दसैंतिहारजस्ता चाड मनाउने परिपार्टीमा परिवर्तन आएको छ । पहिलाको दसैंभन्दा अहिलेको दसैंमा अन्तर देख्न थालिसकेका छन् युवापुस्ताले ।
आर्थिक रुपमा विपन्नहरुको लागि दसैं दसा बन्ने गर्छ भने सम्पन्नका लागि उत्सव । पैसा नहुनेहरु समस्यै समस्याको बीचमा आफ्नो चाड मनाउँछन् । ठूलाले त बुझ्लान्, ‘तर, केटाकेटीहरुको लागि भए पनि खर्च गर्नैपर्छ, फेरि अहिलेको फेसन पनि त परिवर्तन भएको छ ।’ इटहरीकी सरिता बराल भन्छिन्, ‘सबै सामानको भाउ बढेको छ, ऋणमाथि ऋण थपिन्छ अचेल ।’
दसैं भन्नेबित्तिकै नयाँ लुगा लगाउने र मिठो खाने पर्वका रुपमा बुझिन्छ । बालबालिकाहरु विशेष उत्साहित हुन्छन्, दसैंका लागि । सुनसरीको पकलीका विशाल लम्साल दसैंमा परिवारका सदस्यहरु भेला भइ रमाइलो गर्दै दसैं मनाउने गरेको बताउँछन् । ‘पार्टी दिने चलन बढेको छ ।’ हुनेखानेले पार्टी दिने र मोजमस्तीमा पैसा सकेका बेलामा हँदा खाने र दुई छाक हातमुख जोर्न नसक्नेहरुका लागि भने दसैंको बद्लिँदो संस्कार टाउको दुःखाइ बनेको छ ।
अरुको देखासिकीले त झन् समस्या बढाएको छ । हुनेखानेहरु दसैंमा चलेको फेसनअनुसारका लुगा–कपडा किन्छन्, तर नहुनेका छोराछोरीका लागि अझै पनि दसैं भनेको स्कूलको नयाँ ड्रेस सिलाउने चाड हो भन्ने बुझ्छन् ।
‘पहिले धनी–गरिब दसैं–तिहार मनाउने तरिका एउटै थियो, सबै भेला भएर सुख दुःखका कुरा गरेर मनाइन्थ्यो,’ इटहरी–५ सिद्धकाली चोक बस्ने बसन्त बस्नेत भन्छन्, ‘दसैं तिहारमा विकृति पनि भित्रिन थालेको छ ।’
यसपटकको तिहारमा समूह बनाएर देउसी–भैलो खेल्न जाने तयारीमा रहेका बस्नेतलाई तिहार पहिलाको जस्तो रमाइलो लाग्दैन । भन्छन्, ‘सानो छँदाको तिहार नै रमाइलो ।’
आफन्त भेला भएर सुख दुःखका कुरा गर्दै मनाइने दसैं–तिहारमा विकृति भित्रिएको बताउँछिन्, इटहरीकी रमा भट्टराई । उनी भन्छिन्, ‘पहिले रमाइलो तरिकाले देउसी,–भैलो खेलिन्थ्यो, अहिले त डिस्को मात्र बढी हुन्छ ।’ उनलाई तिहारमा परम्परागत तरिकाले देउसी–भैलो खेलेको मन पर्छ । लोकभाकामा गाइने देउसी र भैलोले संस्कृतिसमेत जगेर्ना गर्ने उनी बताउँछिन् ।
यस्तै प्रकाशपुरकी जानुका कार्की पनि तिहारमा जुवातास खेल्ने प्रवृति मौलाएको गुनासो गर्छिन् । त्यस्तै दसैंमा लगाएको टीका आर्शीवादको लागि मात्र नभइ पैसामुखी हुँदै गएको पनि उनी बताउँछिन् ।
परिवारका सबै सदस्य एकै ठाउँमा बसेर टीका लगाई दसैं मनाउने गरेकी बेलबारीकी अप्सरा जिम्मेवारी बढ्दै गएपछि दसैंको रौनक घटेको बताउँछिन् । उनी भन्छिन्, ‘पहिला सानोमा गाउँदै, नाच्दै रमाइलोसँग चाडपर्व मनाइन्थ्यो, तर, अहिले घर–व्यवहारले त्यस्तो रमाइलो हुँदैन ।’
सानो हुँदा नयाँ लुगा पाउनेबित्तिकै खुसी हुने मोरङ–२ दुलारीका विनोद सिवाकोटीलाई अहिले दसैं–तिहारको खासै वास्ता लाग्दैन । सानो हुँदाको जस्तो रमाइलो नभए पनि यो पटकको दसैंमा ठूलाबडाको आशीर्वाद थापेर र तिहारमा देउसी–भैली खेलेर मनाउने सुरमा छन् ।
झुम्का लघुना चोकका रमेश अधिकारी अहिलेको दसैंमा बढी एक्लो अनुभव गर्छन् । आफूभन्दा ठूलाको हातबाट टीका थाप्दै आशीर्वाद लिने दसैंमा पहिले पहिले पिङ खेलेको सम्झन्छन् । भन्छन्, ‘अहिले पिङ खेल्नै पाईँदैन ।’
इटहरीकी कल्पना शर्मा पनि घरपरिवारसँग बसेर रमाइलो गरेर मनाउनुपर्छ भन्छिन्, तर बढ्दो महँगीका कारण दैनिक जीवन धान्नसमेत समस्या भइरहेको बेला दसैं–तिहारजस्ता चाडबाडमा थप खर्चको भार पर्ने हुँदा चाडपर्व रमाइलो हुन छाडेको बताउँछिन् ।
जुना त्रिताल

0 comments:
Speak up your mind
Tell us what you're thinking... !