संस्कृतमा आकर्षण
Written By Neplee on Friday, September 21, 2012 | 5:31 AM
उदयपुरका १५ वर्षीय प्रज्वल घिमिरे दुई वर्षदेखि विराटनगर १६ स्थित वेदविद्याश्रम माविमा संस्कृत भाषा पढिरहेका छन् । कक्षा ९ मा पढ्ने उनी जन्मदेखि मृत्युसम्मका सबै संस्कारको कर्मकाण्ड गर्ने भइसकेका छन् । ‘यहाँ पढाइ सकेर उदयपुरमा संस्कृत र संस्कृति संरक्षणमा लाग्ने, गुरुकूल खोल्ने लक्ष्य छ,’ उनले भने ।
प्रज्वलकै सहपाठी काठमाडांैका १४ वर्षीय श्रीतत्श पौडेल तीन महिना अघिमात्र यहाँ आएका हुन् । उनीहरु सँगै बसेर स्वस्तिवाचन गर्छन्, श्लोक सिक्छन् । विराटनगर १४ जनआन्दोलन चोकदेखि एक किलोमिटर पश्चिममा रहेको वेदविद्याश्रममा बिहान चार बजेदेखि नै विद्यार्थी सन्ध्योपासनलगायतका कर्म गर्छन् । नौ बजेसम्म बिहानको पढाइ, त्यसपछि सामूहिक भोजन हुन्छ । १० बजेदेखि कक्षा सुरु हुन्छ ।
विद्यालय छुटेपछि साँझको छ बजेसम्म स्वाध्ययन हुन्छ । उनीहरु रुद्रीका मन्त्र अनि वेदका ऋचा नियमित पाठ गर्छन् । उनीहरुको एउटै लक्ष्य छ, संस्कृतिको जगेर्ना गर्ने । यसका साथै बेरोजगार बस्नु नपर्नेमा पनि उनीहरु ढुक्क छन् । ‘कर्मकाण्ड गरेर जीविकोपार्जन सजिलै गर्न सकिन्छ,’ शिक्षक नारायण पौडल भन्छन्, ‘बेरोजगार बस्नुपर्दैन ।’
संस्कृत सिकिरहेका ओखलढुङ्गाका मेघनाथ खतिवडाले नौ वर्षीय छोरा श्यामलाई छ कक्षामा भर्ना गरिएिका छन् ।
रौतहटका सरोज तिम्सिना, सुनसरीका गणेश ओझा, बर्दियाका लक्ष्मण ढुङ्गाना सबैको एउटै लक्ष्य संस्कृत पढेर गुरु बन्ने छ । वैदिक गुरुकुल शिक्षालाई समयसापेक्ष बनाउँदै लैजाने उद्देश्यअनुसार नेपालकै पहिलो सामुदायिक वेदविद्याश्रममा छदेखि १० कक्षासम्मको पढाइ हुन्छ । यहाँबाट एसएलसी उत्तीर्ण हुने विद्यार्थी जन्मदेखि मृत्युसम्मका संस्कार गर्न, पुराण र शुक्ल यजुर्वेद सस्वर पाठ गर्न सक्ने हुन्छन् । उनीहरुले संस्कृत विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसमा विभिन्न विषयमा विद्यावरिधिसम्म गर्न सक्छन् ।
यस विद्यालयमा सामाजिक, नेपाली, वातावरण, गणित र ऐच्छिक विषयमा अङ्ग्रेजी पनि पढाइ हुन्छ । औपचारिक वेद–विद्याश्रम पाठयक्रमको अनुशरण गर्दै २०४२ सालबाट यहाँ संस्कृतको औपचारिक शिक्षा सुरु गरिएको हो । लक्ष्मीनारायण मन्दिरका अध्यक्ष स्वामी अच्युत प्रपन्नाचार्य भन्छन् ‘राम्रो पढाइका कारण सुरुदेखि देशका विभिन्न स्थानबाट विद्यार्थीहरु यहाँ पढ्न आउने गरेका छन् ।’
२०४२ सालमा यो स्कुल सुरु हुँदा १२ जना विद्यार्थी थिए । पहिला नेपाल वेद–विद्याश्रमको परीक्षाका लागि काठमाडौं नै जानुपथ्र्यो । अहिले एसएलसी परीक्षा यहीँबाट दिन पाइन्छ ।
यस विद्यालयमा निःशुल्क पढाइ हुन्छ । विभिन्न दाता तथा अक्षय कोषबाट आर्थिक जोहो गरिन्छ । भाषा मात्र पढाइ हुन थालेपछि स्कुलमा अभिभावकहरु विशेष आकर्षित भएका छन् । ओखलढुङ्गाका मेघनाथ खतिवडा नियमित रुपमा आउँछन् र छोराको पढाइबारे बुझ्छन् । उनी छोरालाई संस्कृत पढाउन पाएकोमा दङ्ग छन् । भन्छन्र्, अब बल्ल हाम्रो बाबुबाजेको धर्म–संस्कृतिको जगेर्ना गर्न सजिलो हुने भयो ।’
प्रधानाध्यापक खगेन्द्र कोइरालाका अनुसार औपचारिक शिक्षाको प्रमाणपत्रसँगै बेरोजगार बस्नु नपर्ने भएकाले पछिल्लो समय संस्कृत पढ्नेको सङ्ख्या बढिरहेको छ । ‘कर्मकाण्ड गर्ने व्यक्तिको अभाव भइरहेकाले पनि आकर्षण बढ्दो छ,’ उनी भन्छन् ‘संस्कृत शिक्षाले धार्मिक सदाचार कायम रहन मद्दत पुग्छ ।ु
विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहे तापनि आर्थिक स्रोत जुटाउन हम्मे–हम्मे परिरहेको छ । विद्यालयको आफ्नै स्रोत नभएपछि विद्यालय सञ्चालन गर्न विभिन्न व्यक्तिहरुबाट चन्दा उठाइने गरिएको छ । संस्कृति भाषाको संरक्षण र संवर्धनकै लागि विद्यालयमा निजी स्रोतबाट चार जना शिक्षकहरु राखिएका छन् ।
प्रधानाध्यापक कोइरालाका अनुसार विद्यालयमा पर्याप्त दरबन्दी नहुँदा निजी स्रोतबाट राखिएका शिक्षकलाई पारिश्रमिक दिनकै लागि पनि चन्दा उठाउनु पर्ने बाध्यता रहेको छ । संस्कृत भाषाको पाठ्यपुस्तक भने जिल्ला शिक्षा कार्यालय मोरङले उपलब्ध गराउँदै आएको छ ।
अनिल श्रेष्ठ
0 comments:
Speak up your mind
Tell us what you're thinking... !