पढेको हात्ती
Written By Neplee on Friday, February 17, 2012 | 6:09 PM
‘पढेर हात्ती ठूलो भा’को हो र ?’
साथीको यो प्रश्नले मीनालाई बारम्बार झस्काइरहन्थ्यो । ‘डिग्री लिएका त कति छन् कति, पढेर तँ पनि डुकु हुन्छेस् ।’
साथीको यस्तो चेतावनीपछि ऊ स्वीकृति जनाउँथी । शिक्षकले पढाइरहेकै हुन्थे, पहिले आफू अनि साथीको सहयोगमा ब्याग फुत्त बाहिर निस्किन्थ्यो । ‘प्रिन्सिपललाई सोधिसकेँ ।’ पालेलाई यत्ति भनेर ऊ बाहिरिन्थी ।
‘गुड । यसरी नै बङ्क गर्ने । पढेर कोही ठूलो हुँदैन । कर्ममा छ भने भैंसी चढेर पनि राष्ट्रपति भइन्छ, छैन भने पढेको बेरोजगार ।’ साथीको यो कुरा होजस्तै लाग्थ्यो । सहमतिमा मुन्टो हल्लाउँथेँ ।
०००
हुन पनि हो, भइरहेकै यस्तै छ । स्कुलबाट फर्केर आज भने मीना सिधै घर आएकी थिई । ‘नजाने यार आज मुड छैन ।’ फोनमा साथीलाई बिदा गर्दै फुत्त झोला फालेर आफू पनि ओच्छ्यानमा पछारिई । तेरो रिजल्ट त त्यति राम्रो आएन छ नि !’ आमाले हकार्नुभो । ‘यस्तै हो भने त यो वर्ष गुल्टिन्छेस् कि क्या हो ?’
आमाको चेतावनीदेखि आजकाल उसलाई झर्को लाग्छ । ‘कति पढ्नु ?’ जति पढे पनि आउने केही होइन । ऊ सोच्छे । पढ्नै नपरे पनि हुन्थ्यो । खाना खाएपछि आमाको ‘पढ् है नानी !’ लाई एउटा कानले सुनेर अर्कोले उडाइदिन्छे आखिरमा पढेर ठूलो भा’को हो र हात्ती ! सिरक तानेर आँखा चिम्लन्छे ।
०००
‘यो पढेको हात्ती हो, अनि यो नपढेको ।’
‘बाफ रे !’ मीना अचम्मित भई । ‘पढेको हात्तीले धेरै खान पाउँछ । नपढेकोले पाउँदैन ।’
‘ए हे ! अनि यो हात्ती चाहिँ किन सेतो अनि यो किन कालो ?’
‘पढेको हात्तीको मन सफा छ । नपढेकाको फोहोर ।’
यस्तो पनि हुन्छ र ?’
‘यस्तै छ यहाँ । अनि ऊ त्यो सेतो चम्किलो अनि सबैभन्दा ठूलो हात्ती देख्दैछौ ?’
‘हो, छ ।’
‘त्यो हात्तीले सबैभन्दा बढी पढेको छ । उही यहाँको राजा हो ।’
निकै अचम्म । ‘मानिसमा त त्यस्तो हुँदैन । जसले छलकपट गर्न जान्यो, अनि मानिसलाई आफ्नो पछि लगाउन सक्यो, उही माथिल्लो तहमा पुग्छ ।’
‘त्यसैले त मानिस हाम्रो कुनै काममा आउँदैन ।’ लामो सुँढवाला हात्तीले निस्फिक्रीसँग सुँढ हल्लाउँदै भन्यो, ‘पढ्नेले राम्रो ठाउँ पाउँछ । नपढ्नेलाई त्यही अनुसारको काम मिल्छ । हेर्ने हो ?’
‘ऊ त्यो पढ्न नजान्ने मानिस हो । त्यसलाई हामीले हाम्रो थासो सोहोर्ने काम दिएका छौं । अनि त्यो चाहिँ पढ्न मन नै नगर्ने । त्यसलाई चाहिँ हामीले हाम्रा लागि घाँसपात खोजेर ल्याउने काममा प्रयोग गरेका छौँ । आखिरमा नपढेको मानिसले गर्ने त्यही हो । पढ्नेले आधुनिक प्रविधिको प्रयोग गर्छ । नपढ्ने आफैँ नारिन्छ ।’
हात्तीले आफ्नो लामो सुँढले ऊ तिर इंकित गर्दै भन्यो, ‘तिमी पढ्ने मान्छे त होइनौ ।’
ऊ झसँङ्ग भई । कसरी थाहा पायो यो हात्तीले म पढ्न मन गर्दिँन भनेर ?
‘तिमीलाई पनि यहाँ एक–दुई काम त लगाउनै प¥यो ।’
मीनाको सातो–पुत्लो उड्यो । कुनै प्रतिक्रिया नपर्खी आदेश दियो, ‘लौ त्यो फोहोरको डङ्गुरमा गएर झिँगा मारेर ल्याऊ । दिनको एक हजार झिँगा मा¥यौ भने खान पाउँछौं नभए पाउँदैनौं ।’
‘नाईँ म गर्दिनँ ।’
‘पढ्न पनि नपढ्ने अनि काम पनि नगर्ने धर्तीको बोझलाई कोर्रै–कोर्रा हानेर थुन्ने नियम छ यहाँ ।’ उसको कठोर उर्दी पछि मीना कहालिई । ‘नाइँ म पढ्छु । म पढ्छु । धेरै पढ्छु । क्याम्पसबाट भाग्दिनँ ।’
झसङ्ग हुँदा ऊ आफ्नै कोठामा थिई । उफ् कस्तो सपना । ऊ एकोहोरिई ।
०००
शिक्षकले पढाइरहेको बेलामा मीनाकी साथीले आँखा सन्काई । त्यसको मतलब थियो, कलेज बङ्क गरौँ । साथीको यस्तो प्रस्ताव आउनेबित्तिकै अघिल्ला दिनमा ब्याग टिपेर बिरालोको चालमा लुसुक्क कक्षाकोठा बाहिर निस्किने मीनाले यो पटक भने कालोपाटीतिर हेरी । त्यहाँ त्यही सेतो चम्किलो, ठूलो हात्ती देखी । सुँढ हल्लाउँदै उसैलाई हेर्दै थियो । मीनाले कापीमा केही लेखी अनि पोको पारेर साथीतिर हु¥याई । त्यहाँ लेखिएको थियो, ‘पढेको हात्ती ठूलो हुन्छ । म पनि पढ्छु ।’
चिट पढेपछि उसको साथी खित्का छाडेर हाँस्न थाली । पठाइरहेका बेलामा हाँसेको भन्दै शिक्षकले उसलाई कक्षाकोठाबाट निकालिदिए । ऊ झोला बोकेर मीनालाई हेर्दै बाहिरिई । यसरी बाहिर निकालिँदा बङ्क गर्दाको जस्तो उत्साह उसको अनुहारमा देखिएन ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !