College Times : Educational Magazine
Headlines News :
आवरण >>>>

Latest Post

शैक्षिक आन्दोलनको दिशाबोध

Written By Collegetimes on Sunday, June 1, 2014 | 1:06 AM


‘भएकालाई विस्थापित नगरौं,’ भन्ने नारासहित अस्थायी शिक्षकहरू यतिबेला आन्दोलित छन् । धेरै शिक्षकका हातमा शैक्षिक सामग्री चक–डस्टर, मार्कर होइन, ‘स्थायी हुन पाऊँँ’ लेखिएका प्ले–कार्ड छन् । यसरी शिक्षकका प्रतिनिधिमूलक संघ–संस्थाले कहिले एक्ला–एक्लै कहिले संयुक्त रूपमा पेसागत र शैक्षिक मागहरू राख्दै आएको धेरै भयो । आन्दोलनसँगै सरकार र शिक्षकका प्रतिनिधिबीच अनेक सम्झौता र सहमति भएका छन् । तर, शिक्षकका पेसागत संघ–संस्थासँग सम्झौता र सहमति गरे पनि कार्यान्वयन नगर्ने विडम्बनापूर्ण प्रवृत्ति सरकारी पक्षबाट बारम्बार दोहोरिँदै आएको छ । तर, सरकार आम श्रमजीवी शिक्षक कर्मचारीमाथि धोका, तिरस्कार, दमन र अन्यायपूर्ण व्यवहार गर्न तल्लीन देखिएको छ । 

शिक्षण संस्थाहरू राज्यको गलत नीतिका कारण शैक्षिक बेरोजगार उत्पादन गर्ने उद्योगको रूपमा स्थापित हुँदै छन् । शिक्षकहरूको हक, हित, सेवा, सुविधा, वृत्ति विकास र शैक्षिक सुधार जस्ता कुराहरू अन्योल, अराजक र दिशाहीन भएर मडारिन थालेका छन् । यही पृष्ठभूमिमा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू आन्दोलनमा होमिन बाध्य भएको तथ्य घाम जस्तै छर्लङ्ग छ । 

सबैका लागि अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चितता शैक्षिक आन्दोलनको माग हुने गर्छ । राज्यले अनिवार्य तथा निःशुल्क शिक्षाको प्रतिबद्धता व्यक्त गरेको छ तर आवश्यक पूर्वाधार शिक्षक कर्मचारी बजेट तथा दरबन्दी आदिको आवश्यकतामा पटक्कै ध्यान दिएको छैन । वर्तमान परिवेशमा शैक्षिक आन्दोलनले गुणस्तरीय शिक्षा प्राप्तिका लागि संवैधानिक शिक्षा आयोगद्वारा सबै प्रकृतिका शिक्षकहरूको नियुक्ति, प्रअ नियुक्तिमा पारदर्शी प्राज्ञिक मापदण्ड निर्धारण, शिक्षक काउन्सिल गठन गरी लाइसेन्सको वितरणमा सुनिश्चितताको माग गरिरहेको छ । आज मुलुकमा दुई तहको शिक्षा र तेह्र थरी अस्थायी शिक्षक छन् । शिक्षा क्षेत्रमा यीलगायत अनेकौं बेथिति छन्, जसको अन्त्य जरुरी छ । विद्यार्थी शिक्षक अनुपातमा दरबन्दी, अन्यायपूर्ण तरिकाले निष्कासन गरिएका शिक्षक कर्मचारीलाई क्षतिपूर्तिसहित पुनःबहाली र राज्यले प्रतिबद्धता जनाएको तथा कानुनले तोकेअनुसारको पारिश्रमिक आदि मुद्दा साझा सवाल बनेका छन् ।

यस्तोमा राज्यले अस्थायी शिक्षकहरूलाई बढी नै अन्याय गरेको छ । राज्यकै अकर्मण्यताका कारण २० वर्षभन्दा लामो समयदेखिकासहित २२ हजारभन्दा बढी शिक्षक अस्थायी छन् । उनीहरूको जाँगर, सीप, क्षमता र उर्जाशील समयको उपयोग राज्यले गरिसकेको छ, गरिरहेको छ । फेरि, अस्थायी शिक्षक नियुक्ति गर्दा प्रतिस्पर्धाद्वारा नै छनोट गरी नियुक्ति गरिन्छ । त्यसैले उनीहरू एक हदसम्म योग्य प्रमाणित भइसकेकाले प्रक्रिया पु¥याएर स्थायी गर्नुको विकल्प छैन । त्यसका लागि प्रत्येक वर्ष खाली दरबन्दीका लागि शिक्षक आयोग खोल्नु र त्यसमा अस्थायी शिक्षकलाई प्राथमिकता दिइनु सर्वमान्य विकल्प हुनसक्छ ।   

तर, २०५७ सालपछि हालसम्म विद्यालयमा कुनै दरबन्दी थपिएको छैन । हालसम्म राहत कोटामा र पिसिएफ गरी ५० हजारभन्दा बढी शिक्षकहरू कार्यरत छन् । यस्ता शिक्षकहरूको लागि प्राप्त हुने अनुदान सहयोग रकम कहिलेसम्म प्राप्त हुने निश्चित छैन । यिनीहरूको पुनःस्थापना कहिले र कसरी गरिने हो अनिश्चित र अन्योल छ । यस्तोमा कार्यरत राहत, पिसिएफ, परियोजना, निजी स्रोत, सट्टा, लियन र संस्थागत शिक्षकहरूलाई शिक्षा आयोगको खुला विज्ञापनमा उमेरको हद र अनुभवको आधारमा मूल्याङ्कन गरिनु समीचिन छ ।

तर, शिक्षा क्षेत्र देखिएका अनेकन समस्या समाधानका लागि आन्दोलित शिक्षकप्रति सरकारी व्यवहार भने हिंस्रक छ । उल्टै, निषेधित व्यवहार प्रदर्शन गरेको आरोप लगाउँदै पक्राउ गरिरहेको छ । शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक मान्यता र ट्रेड युनियन अधिकारसम्मत माग राख्ने आन्दोलनकारीप्रति गर्दा हिंस्रक बन्नु लोकतान्त्रिक सरकारलाई सुहाउने विषय होइन । 

आज नेपाललाई वैैज्ञानिक एवम् व्यावहारिक शिक्षा नीतिको खाँचो छ । गुणस्तरीय शिक्षाको प्रवर्धन गरी रोजगार सिर्जना गर्न सक्ने श्रम उत्पादन गर्नुको विकल्प छैन । त्यसै दिशामा शैक्षिक तथा पेसागत आन्दोलन र सरकारी व्यवहार केन्द्रित हुनुपर्छ । यस अवस्थामा सरकारले शिक्षकका मागलाई बेवास्ता गरी घरपकड र लाठ्ठी बर्साउने काम गर्नुभन्दा वार्ताद्वारा स्थायी ढङ्गले समस्या–समाधान गर्नु आवश्यक छ । सारमा यतिबेला शैक्षिक शुद्धीकरण, एकीकृत उच्च शैक्षिक व्यवहार र सिकाइ उपलब्धि वृद्धिको सवालमा अभियान नै अगाडि बढाउनुपर्ने बेला छ । विद्यमान बेथितिको फाइदा लिने वा रमिते बन्ने दुवै प्रवृत्ति घातक छन् । यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक, सरोकारवाला तथा पेसागत सङ्घ–संस्था र सरकार सबैको प्रत्यक्ष सहकार्य शैक्षिक आन्दोलनले खोजिरहेको छ । कोही पनि विचलित वा दिशाभ्रमित हुनुहुँदैन ।

सुन्न जान्नू, जान्नका लागि सुन्नू


  • केदार शर्मा


केही युवा साथीहरूले सञ्चारसम्बन्धी राम्रो तालीम मिलाइदिन अनुरोध गर्दा मलाई खुसी लाग्यो । सञ्चारका क्षेत्रमा मात्र होइन,  आपूmलाई काम गर्न मन लागेको विषयमा ‘राम्रो तालीम’ लिन चाहने युवाहरूको सङ्ख्या ठूलो छ ।  धेरै क्षेत्रमा काम गर्न र सफल हुनका लागि तालीमको आवश्यकता पर्छ । राम्रो तालीममा समय, अवसर, अध्ययन, अनुभव, अनुकरण तथा ठक्करहरूबाट सिक्ने अवसर पाइन्छ ।  तर, तालीम पाएका व्यक्तिहरू सबैले दक्षता प्राप्त गर्छन् र त्यसपछि सम्बन्धित विषयमा काम पाउँछन् भन्ने निश्चित हुँदैन ।  
तालीम लिएर आपूmलाई सुयोग्य बनाउन चाहने युवाहरूलाई आफ्नो अनुभवमा आधारित केही कुरा बताउनै पर्छ भन्ने लागेर यस पटक मैले विचारबारीको विषय नै यही बनाएको छु । यो प्रतिस्पर्धाको जमानामा अरूलाई उछिनेर काम गर्न सजिलो छैन ।  भनेका ठाउँमा काम पाइने सम्भावना कमै हुन्छ र त्यसबेला धेरैलाई निराशा हुन्छ ।  तर, योग्यता र क्षमताको चमक मान्छेका आँखामा पर्छ नै । काम लगाउनेले जाँगरिलो र इमानदार व्यक्तिलाई नै रोज्छन्, त्यस्ता व्यक्तिले ढुक्क हुँदा हुन्छ ।

एउटा काममा छानिनु मात्र सफलता होइन किनभने हामी सबै छनोटको प्रव्रिmयामा दिनहुँ परिरहेका हुन्छौं ।  जसले यो प्रक्रियालाई बुझ्छ, उसले छनोटमा नपर्दा पनि मेरो कहाँ कमी कमजोरी भयो भनेर आत्ममूल्याङ्कन गर्छ ।  अनि ऊ अर्कालाई दोष दिनुको साटो आफूलाई सुधार्ने काम गर्छ ।  

काम पाउनका लागि शैक्षिक योग्यता र तालीम मात्रले पुग्दैन ।  आफ्नो काम राम्रोसित गर्नेे स्वभावलाई अङ्ग्रेजीमा ‘प्रोफेसनालिजम’ भनिन्छ ।  यसलाई नेपालीमा ‘व्यावसायिकता’ भन्छन् । तर यसलाई ‘पेसाको धर्म र मर्म’ भनेर बुझ्नु सबभन्दा उपयुक्त हुन्छ ।  

विभिन्न काम गर्न फरक फरक योग्यता, सीप, शैली, समय र ठाउँ हुन्छन् ।  तर, व्यावसायिकताका मापदण्डहरू भने सबै काम र सबै ठाउँका लागि समान हुन्छन् ।  व्यावसायिकताको पहिलो शर्त हो आफ्नो कामप्रतिको विश्वास, रुचि र गर्व ।  करले गरेको कुनै कामले पनि उत्तम परिणाम दिन सक्दैन ।

व्यावसायिकताको अर्को शर्त हो काम गर्ने सामथ्र्य वा क्षमता ।  व्यावसायिक व्यक्तिले आफ्नो विषय राम्रोसँग बुझेको हुनैपर्छ र ऊ आफ्नो काममा सिपालु हुनैपर्छ ।  आफ्नो काम राम्रोसँग गर्न नसक्ने व्यक्तिले कदाचित ठूलो पद पाइहाले पनि ऊ प्रभावकारी हुन सक्दैन, पदसँगसँगै ऊ पनि बिर्सिइन्छ ।  योग्यतासित जोडिएको अर्को गुण हो लगनशीलता । सामान्यतया योग्य व्यक्ति लगनशील नै हुन्छ ।  तर, कहिलेकाहीं एकदमै योग्य व्यक्तिको लगनशीलतामा पनि कमी आएको देखिन्छ ।  सफल हुन चाहने व्यक्तिले यसमा सदैव ध्यान दिनु 
आवश्यक हुन्छ ।

व्यावसायिकताको अर्को शर्त हो भरपर्दोपन ।  व्यक्ति जति योग्य भए पनि विश्वासयोग्य छैन भने उसको योग्यता काम लाग्दैन ।  आफ्नो जिम्मामा रहेको काम भरपर्दोगरी पूरा गर्ने व्यक्ति मात्र सफल र प्रतिष्ठित हुनसक्छ ।  भरपर्दोपन इमानदारीको परिणाम हो ।  बेइमानीले कहिलेकाहीं चोरबाटोबाट सफलतासम्म पु¥याउन सक्छ तर बेइमानीको बोझले झुकेको शीरमा प्रतिष्ठाको टोपी कहिल्यै पनि अडिन सक्दैन ।

सफल हुन चाहने व्यक्तिले आफूलाई दिन–प्रतिदिन अझ योग्य बनाउने प्रयास गरिरहनुपर्छ । आफ्नो सीप र क्षमता बढाउन नसक्ने व्यक्तिलाई समयको छालले चाँडै नै पाखा लागाइदिन्छ ।  त्यसरी नै सकारात्मक विचार र व्यवहार पनि व्यावसायिकताको गुण हो ।  आफूले पार लगाउन नसक्ने विषयमा अर्काको खोट मात्र देखाउने व्यक्तिलाई प्रोफेसनल मान्न सकिँदैन ।  आफ्नो काम राम्रोसित गर्नु, अर्काको काममा चित्त बुझेको छैन भने खास कुरा तोकेर सुधारका लागि सुझाव दिनु र सकेको मद्दत पनि गर्नु व्यावसायिकताका अरू गुणहरू हुन् ।  अरूका कुरा सुन्न जान्नु र जान्नका लागि अरूका कुरा सुन्नु पनि व्यावसायिकताको एउटा चरित्र हो ।  व्यावसायिक व्यक्तिले अर्कालाई अपमान गर्दैन, अर्काले आफूलाई जस्तो व्यवहार गरोस् भन्ने लाग्छ, व्यावसायिक व्यक्तिले अर्कालाई पनि त्यस्तै व्यवहार गर्छ ।  

यी सबै पेसाका साझा धर्म हुन् र यिनको पालना गर्ने व्यक्तिले मात्र पेसाको मर्म बुझेर अब्बल व्यावसायिक व्यक्तिका रूपमा आफ्नो पहिचान बनाउन सक्छ ।  आफूलाई यी कसीहरूमा घोटेर कहाँ छु भन्ने पत्ता लगाउनु र व्यावसायिकताका गुणहरू बढाउँदै लैजानु हामी सबैको पेसागत धर्म हो । व्यावसायिक जीवन प्रवेशसँगै यी कुराहरूमा ध्यान दिनु सफलताको पहिलो सूत्र हो । 

हजार विकल्प


  • हिमाल दाहाल


बजारमा हजार पाइन्छ । अर्थात् यदि तपाई उपभोक्ता हो भने बजारमा कुन वस्तु खाने–नखाने अनि के किन्ने–नकिन्ने भनेर छनोटका लागि हजारौं विकल्पहरू छन् । मात्र तपाईमा खाने वा किन्ने आवश्यकता र पहिचानको क्षमता हुनुप¥यो । करियर र रोजगारीका सवालमा पनि यही सार्वजनीन नियम लागू हुन्छ । हामीसामु यसका अनेकौं उदाहरणहरू छन् । पूर्वाञ्चलकै ठूलो डिपार्टमेन्ट स्टोरका मालिक बलराम आचार्यले केही समयअघि व्यावसायिक खेती तथा गाईपालन थाले । आचार्यले गाई पाले भनेको सुन्दा धेरैले ओठ टोके । छ्या, गोबर, घाँसपातको त्यस्तो काम पनि गर्ने हो ? धेरैको प्रतिक्रिया थियो । तर, बुझ्ने मानिसले आचार्यलाई प्रेरणाको रूपमा लिएर आफूले पनि पशुपालन तथा कृषिमा भविष्य खोजे, अरूलाई पनि त्यस्तै सल्लाह दिए ।
हालै मात्र दूधको मूल्य प्रतिलिटर आठ रुपैयाँले बढ्यो । झन्डै २० प्रतिशतको यो मूल्यवृद्धिले आम किसानलाई फाइदै ग¥यो । गाउँ–घरमा दूध बेचेरै पनि राम्रो आम्दानी गर्न सकिन्छ । दुग्ध उत्पादन व्यवसायको भविष्य राम्रो छ । खास महँगा प्रविधि नचाहिने हुँदा यो आम बेरोजगार युवाले गर्न सक्ने व्यवसाय बनेको छ । लाख रुपैयाँ खर्चेर विदेश गएर महिनाको १० हजार रुपैयाँ पनि बचाउन गाह्रो पर्ने गरी काम गर्नुभन्दा स्वदेशमै बसेर गर्न सकिने गाईपालन बढी फाइदाजनक छ । सुनसरी र मोरङमा रहेका उद्योगहरू मानिस अभावमा समस्यामा छन् । कामदार अनि त्यसमा पनि दक्ष कामदारको अभाव त्यहाँका उद्योगहरूलाई सधंै परिरहन्छ । विशेषतः धेरै मजदुर चाहिने जुट उत्पादनसँग सम्बन्धित कारखानामा मानिस अभाव छ । सोनापुरको अरिहन्त जुटमिलमा काम गर्ने मजदुरले न्यूनतम सात–आठ हजार रुपैयाँ कमाउँछन् । फेरि घरसम्म लिन बस आउँछ । समय समयमा स्वास्थ्य उपचार पनि पाइने । तर, पनि मानिसहरू विदेश नै ताक्छन् । यो विडम्बना हो । हामी अवसर नपाएको भन्दै विदेसिन्छौं । तर, काम गर्ने मानिसका लागि एउटा हैन, हजारौं अवसरहरू छन् ।

हामी भन्छौं, नेपालमा रोजगारको अवसर छैन, त्यसैले विदेशिनुपर्ने बाध्यता छ । तर, वास्तविकतामा नेपालमा अवसर साँघुरिएको होइन, हामीभित्रको सोच साँघुरो भयो । हामीले हाम्रो सोचलाई फराकिलो बनाउन सकेनौं । रोजगारीका दुई–चार अवसरलाई कुरेर बस्यौं, पाएनौं अनि देशलाई सराप्न थाल्यौं । 

सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारका कैदीहरूको समय बिताउने र आयआर्जन गर्ने राम्रो मेलो बनेको छ मुढा बनाउने काम । काम गरेकै भरमा कैदीहरूले मासिक ३० हजारसम्म आम्दानी गर्ने गरेका छन्, जबकि छेवैको बस्तीबाट मासिक पन्ध्र हजार कमाउनका लागि युवाहरू धमाधम खाडी भासिइरहेका छन् । यो हो हाम्रो साँघुरो सोचको प्रमाण । ठूलो ठाउँमा जानेबित्तिकै धेरै कमाइँदैन । सानो ठाउँमा बसेर पनि कमाउनका लागि ठूलो सोच चाहिन्छ । काठमाडौंमा खुद्रा पैसा साट्ने, नाङ्लो पसल थाप्ने, हातमै पसल झुन्ड्याएर हिँड्ने सिपालु स्व–रोजगारहरू धेरै बेरोजगारहरूका लागि आदर्श पात्र बन्न सक्छन् । हामी भन्छौं, कमाउनका लागि पहिले लगानी पनि त गर्नुप¥यो नि ! इटहरीस्थित महिला सीप विकास तालिम केन्द्रले आफ्नो संस्थामा आबद्ध महिलाहरूलाई सीपमूलक तालिम दिन्छ । यस्तो तालिममा फोहोरलाई मोहोर बनाउने गरी कलात्मक सजावटका सामानहरू बनाउन सिकाउँछ, बजार व्यवस्थापनका लागिसमेत सहयोग गरिदिन्छ । केही महिलाहरू शून्य लगानीमा सीप सिकेर यसरी पनि कमाइरहेका छन् । आखिरमा गर्दा त लगानीबिना पनि आम्दानी हुँदोरहेछ त !

बाँसका जराबाट सुन्दर आकृति बनाउँदा बनाउँदै होटल व्यवसायमा छिरेका व्यवसायी रोजन राई भेडेटारमा होटल चलाएर बसिरहेका छन् । त्यहाँ उनको कलाकृति पनि बिक्छ । उनको कलाकृतिका ग्राहक विदेशी पनि छन् । सामान्य बाँच्न त कलाकृति बनाएर पनि सकिन्छ, उनी भन्छन् । इटहरीका निकै पुराना फोटोग्राफर तथा फोटो पत्रकार श्याम पौडेल योगा सिकाउँछन् । त्यति मात्र होइन, बिनाऔषधि पायल्स जस्ता रोगको निदानका लागि सहजीकरणसमेत गर्ने गरेका छन् । राम्रो सीप प्राप्त गरेपछि आयआर्जन गर्ने पेसा अनेकौं हुन सक्छन् भन्ने यो एउटा उदाहरण हो ।

चर्चित कलाकार सीताराम कट्टेल धुर्मुसको आफ्नै बङ्गुर फार्म छ । चपली हाइटबाट चर्चा बटुलेकी नायिका विनिता बरालले तरकारी खेती गरेर चार–पाँच जनालाई रोजगारी समेत दिइरहेकी छिन् । चर्चित कलाकार हरिवंश आचार्यले पनि तरकारी खेती गरेका छन् । शिक्षक पत्रिकाका सल्लाहकार सम्पादक केदार शर्मा इलाम बसेर सम्पादनका कामहरू ‘नेट’बाट गर्दै नयाँ शैलीका खाद्य उत्पादन, होटल व्यवसाय तथा पशुपालन गर्न थालेका छन् । थुप्रै सभासद्, व्यापारी तथा उद्योगीहरू अहिले धमाधम कृषिमा हात हालिरहेका छन् । यी सबै उदाहरण हेर्दा हामी नभएर वा नपाएर होइन, लजाएर पछि परेका हौं भन्न सकिन्छ ।

गर्दा जे पनि हुन्छ जता पनि भरिभराउ छ । नगर्दा केही पनि हुँदैन, दिमागमा अनि खल्तीमा केही पनि हुँदैन । लोडसेडिङको समयमा मैनबत्ती बनाएर बेचेर पनि मानिस पैसा कमाइरहेका छन्, हामीलाई मैनबत्ती बनाउन केले छेक्छ ? लाजले छेक्छ भने त्यसलाई हामीले फाल्नुपर्छ किनकि हामी मेहनत गरेर कमाएर खान खोज्दै छौं । अरूले कमाइदिएको लुट्न, चोर्न, ढाँट्न पो लाज, स्व–रोजगार बन्न, बनाएर बेचेर खान केको लाज ? इटहरीको सङ्गीत चोकमा चटपटे बेच्ने एक जना युवा चटपटे बेचेरै मासिक ४० हजार हाराहारी कमाउँछन् । बाटो छेउमा जिन्सको पेन्ट फिटिङ गरेरै महिनाको ५० हजार कमाउने मानिस हाम्रै बजारमा छन् । चिया पसल खोलेर धेरैले परिवार पालेका छन् । जजमानी गर्नेहरूलाई खान–लाउनको समस्या छैन । धेरैले छ्या भन्ने फोहोर उठाउने मानिसले पनि महिनामा राम्रै कमाउँछन् । मिठो–मिठो खाना बनाउन जान्ने मानिसको होटल व्यवसायमा सधैं डिमान्ड छ । तर, हामी यी कुनै पनि काम गर्न चाहँदैनौं । किनकि हामीलाई खपिनसक्नु लाज लाग्छ । 

धेरै युवाहरूको चाहना सञ्चार क्षेत्रमा करियर बनाउनु हुने गर्छ । नाम र दामका लागि सञ्चार क्षेत्रमा ओइरिनेको सङ्ख्या र आकर्षण निकै छ । नाम कमाए पनि दाम कमाउन नसक्ने भन्दै सञ्चार क्षेत्रबाट बाहिरिने पनि केही छन् । तर, हामीभित्रको लाजले कमाउन दिँदैन । बजारमा राम्रो तरिकाले पत्रिका बाँड्ने हकरको अभाव धेरै छ । जिम्मेवार भएर पत्रिका बाँडिदिने हो भने कामको ओइरो लाग्छ । महिनाको १० देखि १५ हजार रुपैयाँ आरामले कमाउन सकिन्छ । प्रेस मेसिन चलाउने मानिसलाई अफसेट सञ्चालकहरूले खुट्टामा ढोगेर काममा राख्नुपर्ने बाध्यता छ । पत्रिका डिजाइनर तथा भिडियो इडिटरको माग राम्रो छ । पत्रिका, एफएम तथा टेलिभिजनको बजार व्यवस्थापकको कमाइ पनि राम्रै हुन्छ । तर, हामीलाई दाम आउनेभन्दा पनि नाम आउने गरी रिपोर्टर, आरजे, भिजे काम गर्नुपर्छ अनि भन्छौं, मिडियामा पैसा भएन । हामी आर्टस्, कमर्स, एजुकेसनको सर्टिफिकेट बोकेर काम खोज्न निस्कन्छौं । तर, बजारमा टेक्निकल विषय जानेका दक्ष मानिसको माग बढी छ । १२ वर्ष विद्यालय, क्याम्पसमा पढेको मानिसले भन्दा १२ महिना टेक्निकल विषय सिकेको मानिसले बढी कमाउँछ । त्यसका तीन कारण छन् । पहिलो, औपचारिक शिक्षा लिएका युवाहरू आफू ठूलो भएको घमण्ड पाल्छन् । दोस्रो, त्यस्ता औपचारिक विषय पढ्नेहरू फालाफाल पाइने हुँदा अवसर पाउन गाह्रो हुन्छ । तेस्रो, औपचारिक सैद्धान्तिक शिक्षा बेच्ने ठाउँ पनि कम हुन्छ । त्यसैले प्राविधिक विषय अध्ययन गर्नु आवश्यक छ । हामी व्यवस्थापन पढ्छौं, तर त्यसमा डिमान्ड कम भएको विषय रोज्छौं । अब त केही विचार गरौं ! 

रोजगारी अवसरकै कुरा गर्दा सवारी–साधनको खरिद बढ्दो छ । त्यससँग सम्बन्धित सीपको पनि राम्रो माग छ । सवारी मर्मत गर्ने सीप जानियो भने संसारको कुनै पनि कुनामा भोकै मर्नुपर्दैन । त्यसमा पनि धेरै–थोरैले दिने सेवाहरू जस्तै पेचको गुना बनाउनेजस्ता काम जान्ने मानिस कम हुँदा दररेट पनि मनोमानी छ । अब यस्ता सीप आर्जन गर्नेतर्फ किन नसोच्ने ?

ल्यापटप, मोबाइल मर्मतको काम जानेको मानिसलाई काम घरैमा आइपुग्छ । धेरैले चलाउने तर बिग्रियो भने सीमित मर्मत केन्द्र धाउनुपर्ने बाध्यतामा ल्यापटप प्रयोगकर्ताहरू छन् पूर्वमा । इलामको कुनै कार्यालयमा प्रिन्टर बिग्रियो भने राम्रो मर्मतका लागि इटहरी–विराटनगरसम्म धाउनुपर्ने बाध्यता छ । ठूला फोटोकपी मेसिन मर्मत गर्ने मानिसलाई बोलाई–बोलाई काम दिइन्छ । कार्यालयको टेबल, कुर्सी मर्मत गर्ने काम थाल्ने हो भने पनि राम्रो कमाइ हुन्छ । सेफ्टी ट्याङ्की सफा गर्नेलाई त एकछिन फुर्सद हुँदैन । महिनामा ४० औं हजार आरामले कमाउँछन् । गर्दा के हुँदैन र ?

लाजको बाक्लो घुम्टोबाहेक हामी कहाँ अल्छे प्रवृत्ति पनि उत्तिकै हाबी छ । कुर्सीमा उपरखुट्टी लगाएर फेसबुक चलाउँदै बस्ने काम खोजिहिड्छौं । अनि फेरि स्वदेशमा राम्रो पैसा नै पाइँदैन भन्दै विदेशिन्छौं । अनि, विदेशमा चाहिँ अधिकतर नेपालीले के गर्छन् ? विदेशमा जे गरे पनि हुन्छ भन्ने मान्यता छ । भेडा चराए पनि हुन्छ, होटलको भुइँ पुछे पनि लाज लाग्दैन । अस्पतालको फोहोर सफा गर्ने जस्तो जोखिमपूर्ण काम पनि प्रायः नेपालीहरूकै भागमा पर्छ । पचासौं तलामा झुन्डिएर लेबर काम गर्ने, निजी कार–ट्रक चलाउने पनि उल्लेख्य छन् । नेपालमै सवारी–साधन चलाउनेहरूले कुनै बैंकमा एसीको चिसो खाएर दिनभरि घोटिनेले भन्दा पनि बढी कमाउँछन् । झन् आफ्नै सवारी–
साधन हुने हो भने त मेहनतले केही वर्षमै मालिक बनाउँछ । तर, विडम्बना विदेशमा ‘काउ–ब्वाई’ बस्न तयार छौं, स्वदेशमा गोठालो बन्दा हाम्रो इज्जत जान्छ । 

विदेशमा गार्ड बस्ने हामी स्वदेशमा पाले भनेर चिनिन चाहँदैनौं । विदेशमा ‘डिस वासर’ बन्न तयार छौं तर स्वदेशमा भाँडा माझ्ने काम कदापि गर्दैनौं । स्वदेशमा हामीलाई लाग्छ, ‘वीर गोर्खाली कतै भाँडा माझेर बस्छ ?’ तर विदेशमा हाम्रो भनाइ हुन्छ, ‘यहाँ आएर पनि नेपाली पाराले सोच्ने हो ! श्रमको सम्मान गर्न नजानेकैले हामी पछाडि परेको हो भन्ने थाहा छैन ?’ यसमा कतिपयको अनुभव अलि फरक खालको हुन्छ । उनीहरूका अनुसार ‘के गर्नु बाध्यताले फसियो । ऊ बेला बुद्धि पुगेन । अब यहाँबाट खालि हात कसरी फर्किनु । जे काम भए पनि गर्नैप¥यो । कसैगरी दुई–चार पैसा जम्मा गर्न सके आफ्नै देश फर्किने थिएँ । त्यसपछि त किन आउँथें र यो मरुभूमिमा !’ नेपालमा मध्यमस्तरका होटल–रेस्टुरेन्टहरूमा वेटरलाई मासिक १० हजार हाराहारी दिइन्छ । टिप्ससमेत जोड्ने हो भने १५ देखि २० हजारको हाराहारी कमाउँछन्, तर स्वेदशमा वेटरको काम गर्नुभन्दा विदेशमा भाँडा माझ्न जान युवाहरू लालायित छन्, कुल्ली बन्न जान युवाहरू तयार छन्, जहाँबाट मरेपछि लास स्वदेश आइपुग्छ कि पुग्दैन भन्ने पनि थाहा छैन ।

युवाहरूको विदेशिने लर्कोमा नेपाल सरकारले निरीहतापूर्ण समर्थन जनाइरहेको छ । नेपालको आम्दानीको मुख्य स्रोत रेमिट्यान्सले देश चलेकै छ, सरकार यसैमा दङ्ग छ । अझ विदेशिने युवाहरूलाई विदेश पठाउन तयार छ । सुन्दै लाज लाग्छ, आफ्ना देशका कर्मठ युवाहरूलाई विदेशमा गएर रोजगारी खोज् भनेर देशको सरकारले नै भन्छ भने योभन्दा ठूलो निरीहता र लज्जाको विषय के हुन सक्छ ? सरकारको यही निरीहताले नेपाली युवाहरू विदेशमा मरिरहेका छन् ।

हामीले आफूले पढेको विषयलाई विशेषज्ञीकरण नगरेर पनि पछि परेका हौं कि ? विज्ञान विषय पढेका हजारौं विद्यार्थी छन्, तर विद्यालय तथा क्याम्पसमा पढाउनसक्ने दक्ष शिक्षकको अभाव छ । शिक्षकहरूलाई नै जाँच्ने हो भने प्रभावकारी शिक्षण क्षमता भएका शिक्षकहरू त ४० प्रतिशत पनि छैनन् । बोर्डिङ पढ्ने धेरै छन्, तर बुझेर अङ्ग्रेजी पढाउने मानिस कम छन् । राम्रो शिक्षक बनेर स्कुल पढाउने हो भने पनि ट्युसन आदिबाट मासिक २० देखि २५ हजार रुपैयाँ कमाइ हुने निश्चित छ । गाउँ–टोलमा साना भाइ–बहिनीलाई ट्युसन पढाइदिने युवाको निकै डिमान्ड छ । पढाइमा राम्रो गर्नेहरूले त्यसतर्फ किन प्रयास नगर्ने ? आफूले पढेकै विषयमा अलि बढी पढेर मेहनत गर्ने त हो नि !

काम कुनै पनि सानो वा ठूलो हुँदैन । पान पसल चलाउनेहरूको नाफा सरकारी जागिरेकोभन्दा बढी हुन्छ । फूल खेती गर्ने वा बेच्ने त झन् मालामाल छन् । विवाह वा पार्टीमा गाडी तथा गेट सजाउने एउटा गुलाबको २५ रुपैयाँ । यति विविधतायुक्त हावापानी छ, धेरै बाँझो जमिन छन् तर पनि तिहारमा विदेशबाट फूल ल्याउनुपर्छ । आफ्नो जग्गा नभएर के भो ? गमला वा बोरामै माटो भरेर पनि विशेष प्रकारका फूल तथा तरकारीका बिरुवा उमारेर राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ । यसबाहेक पैसा तिरेपछि भाडामा जत्ति भने पनि जमिन पाइन्छ । १० वा १५ वर्षका लागि जमिन भाडामा लिएर खेती गरे भइगो । हेर्दा घिन लाग्ला तर गड्यौंला पालेर पनि कमाउनेले कमाएका छन् । कम्पोस्ट मल बनाएर पनि पैसा कमाएका छन् । हामीलाई पो लाज लाग्छ त ! कठै हामी !

काम गर्ने जाँगर हुने हो भने आलु चिप्सहरू बनाएर, मसला प्याकेट बनाएर बेच्दा पनि हुन्छ । केही भएन भने चनाको सातु पानीमा घोलेर कागती निचोरेर बेचे हुन्छ । महिनाको तीस हजार त नाफा मात्रै । किलोका हिसाबले गोटा सुपारी, ल्वाङ–सुकमेल–नरिवल, सुप आदि किनेर सानो–सानो प्याकेट पारेर बेच्दा पनि राम्रै आम्दानी लिन सकिन्छ । दुई–चार जना मिलेर घरमै अचार ‘कारखाना’ चलाउन सकिन्छ । जङ्गलबाट सालको पात सङ्कलन गर्न लगाई गाउँभरिका जेष्ठ महिलामार्फत् दुना–टपरी उद्योग चलाउन सकिन्छ । गाउँभरिका जेष्ठ महिलालाई रुवा दिएर बाती कात्न लगाई सङ्कलन र लाख बत्ती बिक्री गर्ने काम व्यावसायिक हुनसक्छ । गर्मीमा आइसक्रिम बेच्न पञ्जाव–हरियाणाबाट मान्छेहरू हाम्रो बजारमा आएर हाम्रै आँखाअगाडि राम्रो आम्दानी गरिरहेका छन् । बजारमा अण्डा उसिनेर बेच्ने, काँक्रा, अनारस, खरबुजा काटेर बेच्ने स्व–रोजगारहरू कति छन् कति । च्याउ खेती, कुरिलो खेती, सिमसाग खेती पनि व्यावसायिक हुँदै छ । कबाडी सङ्कलनको कामलाई छि नभन्नेहरूले मासिक हजारौं कमाइ रहेका छन् ।

अचेल ‘फोहोरबाट मोहोर बनाउन’ निकै व्यक्तिहरू संलग्न छन् । इटहरी–४ का केही महिलाहरू पनि तिनैमध्येका हुन्, जो खेर जाने प्लास्टिक सङ्कलन गरी त्यसबाट खेलौना, सजावट तथा घरेलु प्रयोगका सामग्री बनाएर सङ्गठित रूपमै राम्रो आम्दानी गरिरहेका छन् । १२ कक्षाको अङ्ग्रेजी विषयमा पुनः जाँच दिएर परीक्षाफल पर्खिरहेकी पाँचकन्या बस्ने एक जना दृष्टिविहीन छात्रा छन्, जो सिन्के धूप बनाउँछिन् । बजारमा प्रतिप्याकेट करिब पचास रुपैयाँ पर्ने सिन्के धूपको सहानुभूति मूल्य उनले सय रुपैयाँ पाउँछिन् । आफैं बनाउने, आफैं बेच्ने यो कामबाट उनको र परिवारको रोजगारी राम्रै चलेको छ ।

पहिले–पहिले महिनैपिच्छे बेरोजगारहरू आन्दोलित हुन्थे । अहिले ठप्प छ । युवाहरू सबै विदेशिएपछि कसले गर्ने आन्दोलन ? युवाशक्ति पलायन हुँदा एक प्रकारले सरकारलाई निकै हाइसन्चो छ । रोजगारी विकास गर्ने दीर्घकालीन योजनाहरूबारे सरकारले केही सोच बनाएकै छैन । अहिले नबनाएको सोचले कम्तीमा अबका पाँच वर्ष पक्कै पिरोल्छ । त्यसबाट हामीपछिका पुस्ता प्रभावित हुने नै छन् । आज हामीले दबाब दिएर सरकारलाई रोजगारी सिर्जना गर्न बाध्य पार्न सकेको भए हामीले दुःखै पाए पनि हामीपछिका पुस्ताले स्वदेशमै रोजगारी पाउँथे । सोचौं कथम्कदाचित भोलि आर्थिक मन्दी लाग्यो अनि नेपालीका लागि आज खुलेका रोजगारीका मुख्य गन्तव्यहरूले ढोका बन्द गरिदिए भने त्यसपछि नेपाल अनि नेपालीको हालत के हुन्छ ?

सोच्ने कुरा धेरै छन्, त्योभन्दा धेरै गर्न सकिन्छ । अरू त अरू, अब लेबर, रिक्साचालकको समेत ज्याला बढिसक्यो । पाइडल मार्नुपर्ने रिक्सा पनि चाहिँदैन, ब्याट्रीबाट चल्ने रिक्सा चलनमा आइसक्यो । काम गरेरै खाने हो, हस्तरेखा हेरेर भविष्यवाणी गर्न सिकेर पनि कमाउन सकिन्छ नि ! चिनापत्र बनाउने हो भने पनि गज्जब काम आउँछ । हामीले मात्र थोरै आँट गर्नुपर्छ । कामप्रति थोरै प्रतिबद्धता भए पुग्छ । 

काम गरेर खान लाज मान्नुहुँदैन । सबै कामको उत्तिकै महत्व छ । केही मानिसहरू जो राम्रो भनिने काम गर्छन्, उनीहरू सानो भनिने काम अनि काम गर्नेहरूप्रति हेपाहा सोच राख्छन् । तपाई पनि त्यस्तै सोच राख्ने मानिसमा पर्नुहुन्छ भने सोच्नुहोस्, तपाईको घडी बिग्रिँदा बनाउने मानिस भएन भने के गर्नुहुन्छ ? फ्यालिदिनुहुन्छ ? वर्षमा कतिवटा घडी फ्याक्नुहुन्छ ? तपाईलाई अति धेरै काम दिने मानिस हुनसक्छ, तपाईको बगैंचा सिँगार्ने माली वा छाता मर्मत गर्ने मानिस । कार्यालय पुछेर चिरिच्याट्ट पारिदिने स्वीपर । पङ्खा तथा एसी मर्मत गर्ने मानिस । सम्झनुस् त, उनीहरूबिना तपाईको दिनचर्या कति जटिल हुन्थ्यो ? अरू छाडिदिनुहोस्, तपाईको उध्रेको सर्ट सिलाइदिने अनि जगल्टे कपाल काटिदिने, छाँटिदिने मानिसको महत्व छैन भन्न सक्नुहुन्छ ? पक्कै सक्नुहुन्न । सागसब्जी बेचिदिने, दूध–पत्रिका ल्याइदिने मानिस भएनन् भने, सेफ्टी ट्याङ्क खाली गरिदिने मानिस भएनन् भने के गर्नुहुन्छ ? 

र, अन्तिममा... स्वदेशमा आफैंले मेहनत गरेर कमाउन सकिँदैन जस्तो लाग्छ भने नेपोलियन बोनापार्ट नामक सम्राटको भनाइ सम्झिनु होस् । उनले भनेका छन्, ‘संसारमा असम्भव भन्ने कुरा मूर्खहरूको शब्दकोशमा मात्र हुन्छ ।’ 

गौचरन बन्दै क्याम्पस


  • सन्तोष कुरुम्बाङ


पूर्वी नेपालको तराई र पहाडको सङ्गमस्थल धरान बजार कुनै समय लाहुरेहरूको बस्तीका रूपमा पहिचान बनाउन सफल थियो । यसबाहेक संस्कृति र शिक्षाको उर्वर भूमिका रूपमा पनि चिनिँदै आएको यो ठाउँले हिजोआज भने आफ्नो दुवै पहिचान बिस्तारै गुमाउँदै छ । 

धरानमा महेन्द्र बहुमुखी, खाद्य–प्रविधि (हात्तीसार), पिण्डेश्वर संस्कृत, पूर्वाञ्चल इन्जिनियरिङ, बिपी प्रतिष्ठान जस्ता सरकारी क्याम्पसहरू छन् । कुनै ताका यी क्याम्पसहरू धेरै विद्यार्थीहरूको उच्चशिक्षा हासिल गर्ने सपनाको निर्विकल्प शिक्षालयका रूपमा रहेका थिए । यिनै क्याम्पसबाट हजारौं विद्यार्थीले आफ्नो भविष्यको सुन्दर अक्षरहरू कोर्ने गरेका थिए । पछिल्लो समयमा आएर यी सरकारी शैक्षिक संस्थाहरूको अवस्था भने अलि फरक छ । यिनीहरू कमजोर र जीर्ण बन्दै छन् ।

२०१२ सालमा स्थापित धरानको महेन्द्र बहुमुखी क्याम्पस कुनै समय सबैभन्दा बढी विद्यार्थीहरूको रोजाइको केन्द्र थियो । तर, अहिले यो क्याम्पसले पुरानो आकर्षण गुमाएको छ । कलेज स्वभावैले सफा–सुरघर र फोहोर–मैलामुक्त हुनुपर्ने हो । तर, सोचेजस्तो वातावरण छैन यहाँ । स्नातकोत्तरसम्म अध्यापन हुने क्याम्पसको नयाँ ‘नेपाल–भारत मैत्री शिक्षा’ भवन जताततै भत्केको र चर्केको छ । सोही भवनअगाडिको मैदान गौचरनमा परिणत भएको छ, जहाँ गाईको गोबरको थुप्रो लागेको हुन्छ । क्याम्पसको खेल मैदान छेउमा गोठ बनाई गाई पालिएको छ भने खेल मैदानमा गोबर थुपारिएको छ । स्वभावैले क्याम्पसको खेल मैदानमा विद्यार्थीहरूले विभिन्न खेलकुदका गतिविधिहरू गर्नुपर्ने हो तर त्यसो नभएर त्यहाँ दिनभर गाई–बाख्र्राहरू खेल्ने–चर्ने गर्छन् ।

कलेजमा प्रवेश गर्ने प्रवेशद्वार आकर्षक र सुन्दर हुनुपर्ने हो त्यसो नभएर कलेजमा प्रवेश गर्ने गेटको छेउमा बाख्रा बान्ने खोर बनाइएको छ । अब बाख्राको खोर कति आकर्षक हुन्छ, भनिरहनु पर्दैन ।
क्याम्पसको पल्लो छेउमा रहेको शौचालय मर्मत नगरेर भत्किसकेको छ । हेर्दा लाग्छ, यो प्रयोग हुन छोडेको धेरै भइसक्यो । 

क्याम्पसको नेपाल भारत मैत्री शिक्षा भवनसँगै रहेकोे एउटा भवनभित्र टिटि बोर्ड बनाइएको छ, जहाँ टिटि खेलाडीको सट्टा फोहोर–मैलाको ‘भिड’ लागेको हुन्छ । यो क्याम्पसको खेल मैदान काम नलाग्ने, प्रयोगविहीन भइसकेको छ । 

धरानका सरकारी क्याम्पसहरूको यो एउटा उदाहरण मात्र हो । अन्य क्याम्पसहरूको अवस्था पनि योसँग मिल्दो–जुल्दो छ । यसरी नै सरकारी क्याम्पसहरू दिनानुदिन भत्किदै, मासिदै, जीर्ण हुँदै जाने हो भने भोलि यहाँको शैक्षिक अवस्था कस्तो होला ? यो सोचनीय विषय बनेको छ । 

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयकै पूर्णकालीन शिक्षकहरू मिलेर व्यवसायका नाममा त्रिविबाट सम्बन्धन लिई विभिन्न तहका कलेजहरू खोल्नु यसरी सरकारी क्याम्पसहरू कमजोर र धरासायी बन्नुको एउटा कारण मानिएको छ । यो क्रम दिनादुदिन बढ्दो छ । शिक्षकहरू लगानीकर्ता बन्ने प्रवृत्तिले पढ्नकै लागि धरान आएका गरिब तथा जेहेनदार विद्यार्थीहरू मारमा परिरहेका छन् । सरकारी क्याम्पसमा राम्रो शैक्षिक वातावरण नहुने भएपछि उनीहरू निजी कलेजमा जान बाध्य हुन्छन् । यस्तो क्रियाकलापले यहाँका आङ्गिक क्याम्पसहरू दिनानुदिन धरासायी बन्दै गएका हुन् । यस विषयमा सरकार र सरोकारवाला दुवै पक्षको ध्यान जान सकिरहेको छैन ।

‘सरहरू अरू ठाउँमा पढाइसकेपछि मात्र यहाँ पढाउन आउने गर्छन्,’ महेन्द्र क्याम्पसछेउ क्यान्टिन चलाएर बस्ने एक जना दिदीको भनाइमा पनि यो क्याम्पसको शैक्षिक अवस्था बोध गर्न सकिन्छ । धरानका अधिकारकर्मी कमल तिगेलाका शब्दमा भन्दा, ‘पढाउने शिक्षकले विद्यार्थीले भन्दा बढी पढ्नुपर्ने हो तर पूर्णकालिक शिक्षकहरू आफैंले अरू–अरू व्यवसाय गरिसकेपछि त्यसमा पनि आफ्नै कलेज खोलेर व्यवसाय हेर्ने–पढाउने भइसकेपछि मातृथलो (सरकारी क्याम्पस)का विद्यार्थीप्रति केन्द्रत हुँदैनन् । यसले गर्दा सरकारी कलेजका विद्यार्थीको पढाइ र शैक्षिक वातावरण बिग्रिने नै भयो ।’

यस विषयमा महेन्द्र बहुमुखी क्याम्पसका पूर्र्णकालीन शिक्षक तथा सिटी कलेजका प्रिन्सिपल विशाल श्रेष्ठ भन्छन्, ‘धरानभरि नै यस्तै छ । कलेज जान्नेले नै त खोल्ने हो नि हामीले जानेको सीप प्रयोग गरेर शैक्षिक सेवा गर्न किन नहुने ?’

श्रेष्ठले जे भने पनि सरकारी क्याम्पसका पूर्णकालीन शिक्षकहरूले अन्य कुनै क्याम्पस खोलेर त्यहाँको कार्यकारी भूमिका निर्वाह गर्नु त्रिवि नियमावलीविपरीत हुन जान्छ । यदि सिप्ट मिलेको खण्डमा मात्र अनुमति लिई अन्य कुनै कलेजमा पढाउन पाउने व्यवस्था छ । तर, यो नियमविपरीत यहाँ सरकारी क्याम्पसका शिक्षकहरूले खोलेका कलेजहरू थुपै्र रहेका छन् । 

महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख सूर्यकुमार राई पूर्णकालीन शिक्षकहरूले बाहिर बढी समय दिएको बारे अनभिज्ञता व्यक्त गर्छन् । भन्छन्, ‘यहाँका सरहरूले बाहिर बढी समय दिएको भन्ने कुरा मलाई थाहा भएन । यदि यस्तो हो भने छानविन गरी कारबाही प्रक्रिया अघि बढाउँछौ । यसबारे आजसम्म कुनै गुनासो र उजुरी आएको छैन ।’ 

पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको यो विकृतिले सरकारी शैक्षिक सम्पदा र सम्पत्तिहरू विनास हुन बल पुगिरहेको छ । सरकारी कलेजहरू गौचरन बन्दै गइरहेका छन् । सँगसँगै हाम्रा विद्यार्थीहरूको भविष्य प्रभावित भइरहेको छ । यो ज्यादै संवेदनशील विषय हो । 


माया र प्रेम


  • पेशल आचार्य

प्रेम एउटा शाश्वत अनुभूति हो, जसले मानिसलाई जिउने ऊर्जा दिन्छ । यो यस्तो आयाम हो, जसमा मानिसको आदि र अन्त्य निहित हुन्छ । यस्तोमा यदि मानिसले असल मानेमा प्रेम गर्न जानेको छ भने ऊे लिन होइन, दिन चाहन्छ । प्रेमका बारेमा भनिएको पनि छ, ‘साँचो प्रेमले त्याग दिन्छ, बदलामा केही चाहँदैन ।’ इतिहासमा हामीले कैयौं प्रेमी–प्रेमिकाका बारे कालजयी कथाहरू पढेका छौं ।

प्रेमको प्रसङ्ग जहाँबाट उठाए नि हुन्छ, जसरी सुरू गरे नि हुन्छ । प्रेम हृदयको मूलबाट आफैं निसृत हुने वेगवाहिनी त्यस्तो नदी हो, जो जस्तोसुकै बाधा–अवरोधहरू पनि तोड्न सफल हुन्छ । जहाँ यसलाई हटक गरिन्छ त्यहाँ यो विस्फोट हुन्छ । धनीकी सुन्दर पुत्री र गरिबको मेधावी पुत्रको प्रेम–कहानीमा आधारित हजारौं–हजार कथा, उपन्यास र सिनेमाहरू छन् । त्यसैगरी, कुनै कुलीनको छोरो र दीन–दुखीकी छोरीको मिलन–कथा पनि अब प्रेमको उत्तरआधुनिक परिभाषाभित्र नपर्ला ।

समयले प्रेमलाई प्रेक्षालयमा राखिसक्यो । यो त अब समवयी, समलिङ्गी, विसमविङ्गी, समधर्मी, समकर्मी, समजाति, समरूपि, समविचारी आदि अनेक आवरणमा रङ्गिन र रङहीन भएर तिर्यक रूपले लहरिएको छ । जोगी र भोगी दुवै प्रेमका भिटामिनले बनाउने कृत्रिम मोटाइ हुन् । विज्ञानले यति मुख नमिठ्याएको भए सायद संसारका सबै विषयवस्तुमा झैं प्रेममा यति उतार–चढाव आउने थिएन । त्यसैले यसको बजारमा सेयर पनि निस्कासन गरिएको छैन, आजका मितिसम्म । प्रेम सेयर दलालहरूको बाजारी सरहदको विषय पनि त होइन !

प्रेमले अनेक महारोगहरूमा अचुक ओखतीको काम गरेको छ, प्राप्तिमा । अनि कस्ताकस्ता घघडान चिकित्सकहरूले पनि प्रेमरोगीहरूलाई उपचार गर्न नसकेर तिनीहरूको अकालमै ज्यान गएको छ, अप्राप्तिमा । यसको रोग के अनि ओखती के ? त्यसको सन्धान अहिलेसम्म भएको पाइएको छैन । वाह ! प्रेमको त पाठ्यक्रम र शिक्षक पनि हुँदैन । जसले आफूले प्रेम गर्छ, उसले स्वयम् आफैंले आफ्नो बाटो बनाउँदै स्वयम्मा आफ्नो विषयवस्तु र पाठ्यक्रम छान्दै निरन्तर अगाडि बढ्नुपर्छ । आफूखुसीको स्वविवेक या स्वमार्गदर्शनले अनुभूतिको स्वप्रेम पथमा आफैंलाई गमन गराउँछ । यो प्रेमको निवृत्त मार्ग पनि हो । प्रवृत्त मार्गका कुराहरू अरू नै छन् । सबैका प्रेमपथहरू चौडा र चिल्ला हुँदैनन् । सबै उही स्तर र शैलीमा प्रेमपथहरूमा सफर गर्न पनि जान्दैनन् । नादानीका बीचमा स्वार्थले अनावश्यक रूपमा फाइदा उठाउँछ । त्यसो नहुन त प्रेम चाहने दुवैका हृदय शुष्क हुनुभएन । दुईमा एउटाको हृदय पनि शुष्क भयो भने त्यहाँ चाहनाको मृगतृष्णा मरुभूमिमा दुई बुँद पानीका खातिर भौंतिरिइरहेको शावक झैं हुन्छ । त्यसैले प्रेमिल व्यवहारमा दुवैको उही सोच र स्तर हुनुपर्छ ।

यो त भयो व्यक्ति व्यक्तिको प्रेमको फेहरिस्त । मानिसले भगवान्लाई गर्ने प्रेम अर्कै किसिमको छ । भगवान् मूर्त रूपमा नदेखिए पनि मानिसहरू अहोरात्र भगवान्को प्राप्तिका लागि अझ भनौं एक झुल्को दर्शनका लागि जीवनपर्यन्त लालयित भइरहन्छन् । यसो किन हुन्छ ? दार्शनिकहरू यस मामलामा चुप छन् । सबै जिज्ञासाले प्रश्न बन्ने हैसियत राख्दैनन् । संसारमा सबै प्रश्नको उत्तर हुँदैन र आउँदैन पनि । सबै नदी तर्न नसकिए झैं, सबै फूल टिप्न नपाए झैं, सबै रस आस्वादन गर्न नमिले झैं, सबै पुस्तक पढ्ने सौभाग्य नभए झैं जीवनमा मानिसका लागि केही न केही तुस रहिरहेको हुन्छ । हो, त्यही तुसका कारणले मानिस आफू मरेपछि पनि बाँच्नका लागि जिउँदो हुँदैमा केही न केही अजर–अमर कार्य गरेर जान चाहन्छ । यो उसको जिन्दगीप्रतिको जिजीविषा हो । उदाहरणका लागि रोमियो–जुलियट हुन् या चाहे वैरनेस–इलोइजा हुन् अझ भनौं शाहजहाँ र मुमताज नै किन नहुन् ? तिनीहरूमा दुनियाँले निस्वार्थ प्रेमका पउल उदाहरणहरू पायो र गद्गद् हुँदै तिनीहरूलाई अमर प्रेमी–प्रेमिकाका रूपमा आदर गरेर राख्यो । मुनामदनकै नेपाली उदाहरण पनि प्रेमका लागि कम छैन । अझ त्यो त गार्हस्थ प्रेम हो । प्रेमका कित्ताकाट गरिए र गार्हस्थ प्रेमलाई जानी–जानीकन ओझेलमा पारियो । टटोल्न सक्यो भने गार्हस्थ प्रेममा पनि स्वर्गको अवर्णनीय सुखानुभूति पाइन्छ । मलाई त के लाग्छ भने प्रेमको सोझो सम्बन्ध मनसँग हुने भएकाले यसको फ्रिक्वेन्सी ज्यादा छ । यो यति सूक्ष्म तत्व हो कि यसको रसानुभूति र व्यवहारले एकर्कालाई जुनीजुनीसम्म जुटाउन र पलभरमै फुटाउन पनि सक्छ ।

अहिलेको जमानामा ‘कुखुरे प्रेम’ का बग्रेल्ती उदाहरणहरू पाइन्छन् । जब बजारमा ‘ब्रोइलर संस्कृति’ को उहापोह भयो तब नै समाजमा कुखुरे प्रेमको ‘प्रोमो’ बनाइयो । हो, त्यही कुखुरे प्रेमले मायालाई जनाउँछ । माया र प्रेममा अन्तर छ । कुखुरे प्रेमको सूर्य मुस्कानको छटासँगै उदाउँछ भने निराशाको खुइइयसँगै अस्ताउँछ । जहाँ जुनसुकै प्रकारले शरीर लिप्साको अनुरोध भइरहेको हुन्छ । एकत्वको चाहनाले कुनै न कुनै बिन्दुमा पु¥याएपछि मानिसलाई उपयोगिताको ह्रासनियम लागू हुन्छ । मायाको सकाम भेदमा यो आकर्षित हुन्छ भने प्रेमको निष्काम भेदमा यो आकर्षित हुँदैन ।

संसारमा माया र प्रेमका पछि लाग्ने खालखालका मानिसहरू पाइन्छन् । विचारमा विविधता छ, जसरी फूलका नाम र सुगन्धमा पृथकता भेटिन्छ । आफ्नो मर्जीको मालिक हरेकलाई त्यो छनोटको सुविधा छ । आफैं त हो, उम्रिने, फैलने, फुल्ने र फल्ने । माटो त सबैका लागि उही नै हो तर किन उखु गुलियो र खोर्सानी पिरो हुन्छ । कुनै वृक्षका जरामा अमृत र कुनै लहराका पातमा प्रकृतिले किन गरल घोलेको होला ? अनुत्तरित छ प्रश्न ।

मायाको वृत्त प्रेमको वृत्तभन्दा सानो हुन्छ । यसको कणकणमा घातका बुँदहरू तप्किन्छन् अनि हुन्छन् स्वार्थका घिनलाग्दा यायावरी खेलहरू । प्रेम–वियोगमा आफू र आफ्ना सबै स्वजनलाई परजनको तिक्ततामा चटक्क संसारलाई छाड्ने या नकार्नेवालाहरू पनि नभएका होइनन् । घनत्वका हिसाबले माया शारीरिक हुने र प्रेमचाहिँ आत्मिक हुने कुरा दार्शनिकहरूले बताएका छन् । संसार हल्लाउने लेखकहरूले पनि अनेकानेक प्रसङ्गमा जायज वा नाजायज प्रेम गरेका छन् । कोही–कोही त महान् प्रेमी नै कहलिएका पनि छन् । कसै–कसैले जीवनमा आफ्ना प्रेमी या प्रेमिकाबाट नराम्रोसँग धोका खाएका छन् । यस्तो प्रकारको धोका र सम्बन्धलाई ऊर्जामा अनुवाद गरेर संसारका महान् लेखकहरूले कयौं कालजयी कृतिहरू लेखेका छन् । नेपालमै पनि साहित्यकार सरुभक्त कुनै जमानामा ‘सरू’ नाम गरेकी केटीसँग प्रेम गर्थे । जब भक्त श्रेष्ठ प्रेमबाट विमुख भए तब सरुभक्त लेख्न थाले । अलिअलि गर्दै उनी विख्यात अहंवादी र विसङ्गतिवादी साहित्यकारका रूपमा स्थापित भएका छन् । प्रेमका आयामहरू यामभन्दा शक्तिशाली हुन्छन् । यसमा विवाद छैन ।

मायाका पनि सकाम र निस्काम गरी दुई प्रकार छन् । आमाले आफ्ना सन्ततीलाई गर्ने मायामा निस्वार्थ भाव भेटिने या प्राकृतिक तत्वको निर्वाहका लागि मात्र आमा तत्व मातृवात्सल्यताका लागि चलायमान हुने कुरा विभिन्न संहिता र शास्त्रमा पाइन्छ । त्यसैले संसारको सबैभन्दा महान् सन्तुष्टि नै आमा बन्दा हुने कुरा बताइएको छ । यो निःस्वार्थ माया हो । समकालीन मायाको कुरामा स्वार्थ नै सबैभन्दा बढी भेटिन्छ । शरीर सुखका लागि निवेदन गर्ने प्रेमले पनि सोझो या घुमाउरो दुवै पारामा यौनकै अपील गरिरहेको हुन्छ । त्यो पनि प्रेमकै आवरणमा मायाको छनक हो ।

यसरी माया र प्रेमलाई एउटै तराजुका दुई वटा पल्लामा राख्दा अवश्य प्रेमकै पल्ला भारी हुन्छ । वातावरण र पर्यावरणका हिसाबले पनि प्रेमको आकाशगङ्गा धेरै फैलिएको छ । यसको वृत्त या परावृत्तमा माया कुनै पनि अर्थ या प्रसङ्गमा आउन सक्दैन । यसर्थ माया, माया नै हो,–प्रेम, प्रेम नै हो ।

स्व–प्रेम, पर–प्रेम, देश–प्रेम, विश्व–प्रेम, जाति–प्रेम, भाषा–प्रेम, संस्कृति–प्रेम, युद्ध–प्रेम, शान्ति–प्रेम, पेसा–प्रेम, पैसा–प्रेम, वातावरण–प्रेम, पर्यावरण–प्रेम, कला–प्रेम, अभिनय–प्रेम, अध्ययन–प्रेम, उमेर–प्रेम, इच्छा–प्रेम आदि अनेकौं उदाहरण प्रस्तुत गर्न सकिन्छ । हुन त निस्वार्थ मायाका पनि अनेक उदाहरण छन् । ती विभिन्न शैली, प्रसङ्ग, हाउभाउ, कटाक्षमा देखिएका छन् । भनिएको पनि छ, ‘हामीलाई कसै न कसैको माया कुनै न कुनै कोण–प्रतिकोणबाट व्यक्त भइरहेको हुन्छ । यस्तोमा निश्चित छ, हामीलाई प्रत्यक्ष या अप्रत्यक्ष रूपले माया गर्नेहरूले माया गर्न छाडिदिए भने हाम्रो जीवन समाप्त हुन्छ !

Face of the month

- more photos
- more photos - more photos

College Times ePaper: Baishakh 2071


College Times Archive : Baishakh 2071Chaitra 2070Falgun 2070Magh 2070Paush 2070Kartik 2070 Ashoj 2070Bhadau 2070
 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved